• २०८१ बैशाख १९ बुधबार

एमाले केन्द्रीय कमिटीको बैठक दमकमा

kharibot

झापा । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक यही वैशाख २८, २९ र ३० गते झापाको दमकमा हुने तय भएको छ । 

एमाले झापाले बैठक हुने स्थान दमक चयन गर्दै आवश्यक तयारी गरिरहेको पार्टीका जिल्ला अध्यक्ष दीपक कार्कीले बताए । उनका अनुसार केन्द्रीय कमिटीको बैठक दमकको कश्मिक पार्टी प्यालेसमा हुने र उद्घाटन सभा दमक पशुहाटको खुला मैदानमा गरिने उनले जानकारी दिए । 

एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २८ गते कार्यकर्ता भेलाबाटै बैठकको उद्घाटन गर्ने भएका छन् ।  वैशाख २९ र ३० गते कश्मिक पार्टी प्यालेसमा बैठकको बन्दसत्र सञ्चालन हुने अध्यक्ष कार्कीले बताए । 

बैठकमा सहभागी पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यलाई बैठकपश्चात वैशाख ३१ गते सुखानीलगायत झापा र इलाम जिल्लाका ऐतिहासिक तथा पर्यटकीयस्थलको अवलोकन गराइने कार्यक्रम रहेको उनले जानकारी दिए ।

मुलुककै होचो स्थान कचनकबल, महाभारतकालीन किचकबधस्थल, झापा विद्रोहमा सहादत प्राप्त गरेको स्थल सुखानी, सहिद पार्क सालबारी, कन्याम लगायतका स्थान अवलोकन भ्रमणको सूचीमा परेका छन् । 

विसं २०४५ यता झापामा पहिलोपल्ट पार्टीको केन्द्रीय कमिटीको बैठक हुन लागेको जनाउँदै उहाँले झापा बैठकले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइ प्रदान गर्न योगदान पु¥याउने धारणा व्यक्त गर्नुभयो ।

चितवन, बारा र तनहुँ जिल्लामा भएको उपनिर्वाचनपश्चात र कोशी प्रदेशको नामाकरणका विषयमा पूर्वमा पहिचानवादी दल र सङ्घसंस्थाहरुले आन्दोलन गरिरहेका बेला नेकपा एमालेको केन्द्रीय बैठक पार्टी अध्यक्ष ओलीको गृह जिल्ला झापाको गृह नगर दमकमा आयोजना हुन लागेको हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै