नयाँ दिल्ली । भारत उत्तरप्रदेशकी एक नाबालिग युवतीलाई बलात्कार गरेको मुद्दामा बाबा आशारामलाई विशेष अदालतले दोषी ठहर गर्दै आजीवन काराबासको सजाय दिएको छ ।
आशारामसहित तीन जना बलात्कार मामिलामा दोषी ठहर भएका थिए । अदालतले आशारामका सहयोगी शरदचन्द्र र शिल्पीलाई २०-२० बर्षको काराबास सजाय सुनाएको छ ।
यही मामिलामा आशारामका सहयोगी दुई जना प्रकाश र शिवालाई प्रमाण नभएको भन्दै छोडेको छ ।
भारतीय मिडियाका अनुसार आशाराममाथि एससीएसटी एक्ट र पाक्सो एक्ट १४ धारामा यो मुद्दा चलिरहेको थियो । हाल ७८ वर्षका आशाराम अब जीवन भर जेलमा बस्नु पर्ने भएको छ ।
आशाराममाथि जोधपुरको मनाई गाउँमा रहेको उनको आश्रममा रहने एक छात्राले आफूमाथि बाबाले यौन उत्पीडन गरेको आरोप लगाएकी थिइन् । उनलाई २०१३ अगष्ट ३१ देखि जेलमा राखिएको थियो ।