• २०८१ बैशाख ७ शुक्रबार

लुम्बिनीमा ५ सय कुलपुत्र प्रव्रज्या

kharibot

रुपन्देही । लुम्बिनीमा एकैदिन पाँच सय भिक्षु बनेका छन् ।

अखिल नेपाल भिक्षु महासङ्घ र थाई भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोषको सह–आयोजनामा बिहीबार मायादेवी मन्दिर परिसरमा आयोजित धार्मिक कार्यक्रममा पाँच सयलाई कुलपुत्र प्रव्रज्या गरी अल्पकालीन भिक्षु बनाइएको हो ।

अखिल नेपाल भिक्षु महासङ्घका महास्थविर धम्म शोभन र धम्मकाय फाउण्डेशनका उपप्रमुख भिक्षु फरा पभनाले अल्पकालीन भिक्षुका लागि चिवर प्रदान गरे । अल्पकालीन भिक्षुले पहेँलो चिवर लगाएर बुद्ध धर्मका एक सय नियम पालना गर्नुपर्नेछ । 

सामान्य अनुयायीले पञ्चशिल र अष्टशिलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्णरूपमा बौद्ध नियममा आफूलाई रुपान्तरण गर्नुपर्नेछ । चैत १७ गते अल्पकालीन भिक्षुको समय सकिनेछ ।

फागुन २७ गते काठमाडौँ र फागुन २८ गते लुम्बिनीमा गरी पाँच सय भिक्षुको केश मुन्डन गरिएको थियो । केश मुन्डन गरिए पनि बिहीबार मात्रै प्रव्रज्या गरी अल्पकालीन भिक्षुका रूपमा पहेँलो चिवर प्रदान गरिएको लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले जानकारी दिए । चिवर प्रदान एंव कुलपुत्र प्रव्रज्या कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले सबैले बुद्धको शिक्षा ग्रहण गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा अखिल नेपाल भिक्षु सङ्घका महास्थविर शोभनले बुद्ध शिक्षालाई व्यवहारमा उतार्न आग्रह गरेका थिए । कोरोना महामारीका कारण तीन वर्षसम्म प्रव्रज्या कार्यक्रम स्थगित भएको थियो ।

यसअघि सन् २०११ मा एक हजार, सन् २०१५ मा एक हजार एक सय १२ र सन् २०१९ मा एक हजार एक सय १९ जनालाई प्रव्रज्या गराइएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै