• २०८१ बैशाख २४ सोमबार

राष्ट्रपतिको लागि शक्ति राष्ट्रहरुले प्रत्यक्ष रुपमा नै भुमिका खेले- चित्रबहादुर केसी

kharibot

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले शक्ति राष्ट्रहरुले राष्ट्रपतिको चुनावमा अप्रत्यक्षित रुपले भुमिका खेलेपनि यसपटक भने प्रत्यक्ष रुपमा नै भुमिका खेलेको आरोप लगाएका छन् । 

बुधवार प्रतिनिधि सभाको बैठकमा बौल्दै सांसद केसीले यस्तो आरोप लगाएका हुन् । उनले शक्ति राष्ट्रहरुले यस पटक प्रत्यक्ष रुपमा आफ्नो देशको स्वार्थअनुकुल राष्ट्रतिका लागि भुमिका खेलिरहेको बताए ।

उनले यसले नेपालको स्वाभिमान नेपालको राष्ट्रियता र सार्वभौम अखण्डतामाथि दखल भइरहेको बताए । सांसद केसीले नेपाली सरकार प्रमुखहरु विदेशी शक्ति राष्ट्रका मानिसहरु आउँदा लम्पसार परेर उनीहरुको आशिर्वादबाट आफ्नो दुनो सोज्याउने काम गरिरहेको दाबी गरे ।

उनले भारतको सामान्य कर्मचारी आउँदा पूर्वप्रधानमन्त्रीहरुदेखि मन्त्रीहरु र राष्ट्रप्रमुख नै लम्पसार परेको भन्दै यसले देशको इज्जत र प्रतिष्ठामा आँच आएको बताए । उनले भुगोलको हिसावले राष्ट्र सानो, ठूलो भएपनि सार्वाभौम सत्ता, भौगोलिक अखण्डताको हिसावले राष्ट्र सानो, ठूलो नहुने बताए । 

उनले भने, ‘एक दुई दिन पहिलो छिमेकी राष्ट्र भारतबाट परराष्ट्र सचिवको नेपाल आगमन भयो । एउटा कर्मचारी । उहाँले नेपालका राष्ट्र प्रमुख, सरकार प्रमुख, लगायत विभिन्न मानिसहरुको बीचमा उहाँले भेटघाटको अभियान चलाउनु भयो । राष्ट्र सानो ठूलो हुनसक्छ । निश्चय पनि नेपालको तुलनामा भारतको भुगोल, जनसंख्या, आर्थिक दृष्टिकोणले ठूलो छ । तर सार्वाभौम सत्ता, भौगोलिक अखण्डताको हिसावले राष्ट्र सानो, ठूलो हुँदैन । सार्वभौम सत्ता हरेक राष्ट्रको बराबर हुन्छ । तर नेपालबाट पूर्वप्रधानमन्त्रीहरु वा जिम्मेवार मन्त्रीहरु जाँदा भारतीय शासकहरुले, खास गरेर उपल्लो तहका शासकहरुलाई भेट्नै सक्दैन । उहाँहरु निराश भएर फर्किनुपर्छ । तर छिमेकका कर्मचारी आउँदा नेपालका राष्ट्र प्रमुख, सरकारप्रमुख, विभिन्न तहका मानिसहरु आफूलाई असाध्यै जान्नेसुन्ने र देशको स्वाभिमान हुँ भन्दै मुन्टो हल्लाउँदै हिँड्ने, किन यसरी विदेशीहरुको अघि लम्पसार परिरहेका छन्, राष्ट्रिय स्वाभिमानको बारेमा उहाँहरुलाई अलिकति लाज लाग्दैन । नेपालमा अहिले चर्चाको विषय छ, राष्ट्रपति कसलाई बनाउने भन्ने चर्चाको विषय छ । त्यस सम्बन्धमा शक्ति राष्ट्रहरुले राष्ट्रपतिको चुनावमा अप्रत्यक्षित रुपले हुने गर्दथ्यो, अहिले त प्रत्यक्ष रुपले नै आफ्नो देशको अनुकुल मान्छे राष्ट्रपति बनाउने खेल भइरहेको छ, यसले नेपालको स्वाभिमान नेपालको राष्ट्रियता र सार्वभौम अखण्डतामाथि दखल भइरहेको छ । विदेशी शक्ति राष्ट्रका मानिसहरु आउँदा लम्पसार परेर उनीहरुको आशिर्वादबाट आफ्नो दुनो सोज्याउने काम गरिरहेका छौँ, यसले वास्तवमा राष्ट्रको स्वाभिमान, इज्जतमाथि खलल गरिरहेको छ ।’

सांसद केसीले नेपालमा गणतन्त्र माथिको खतरा गणतन्त्र पक्षधरहरुबाट नै रहेको बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै