काठमाडौं । संसद् भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका विषयहरूको सरकारले अध्ययन गरेर छानबिन गर्ने भएको छ ।
सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद बैठकले आचार्यको आत्मदाह र उनले उठाएको विषयमा अध्ययन गरेर छानबिन गर्ने निर्णय गरेको हो ।
छानबिनको जिम्मा गृहमन्त्रालयलाई दिइएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिएका छन् ।
गृहमन्त्रालयले छानबिन गरेर आवश्यक कदम चाल्ने उनले बताए । उनले छानबिनबाट आएका निष्कर्षमाथि आवश्यक कारबाही सुरु गरिने बताए ।
मंगलबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफ्नै शरीरमा आगो लगाउने इलामका प्रेमप्रसाद आचार्यको उपचारको क्रममा बुधबार बिहान ५ बजे मृत्यु भएको थियो ।
आत्मदाहको प्रयास गरेका उनलाई प्रहरीले तत्काल उद्धार गरी कीर्तिपुरस्थित अस्पताल पुर्याएको थियो ।