काठमाडौं । सर्वोच्च अदालतले चार्ल्स शोभराजलाई कैदमुक्त गर्न आदेश दिएको छ । बुधबार न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले शोभराजलाई अन्य मुद्दामा कैद भुक्तानी गर्नुपर्ने अवस्था नभए आजै मुक्त गरी १५ दिनभित्र आफ्नै देशमा फिर्ता पठाउन आदेश दिएको हो ।
शोभराजले दिएको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाई गर्दै इजलासले यस्तो आदेश दिएको हो ।
शोभराजले आफुले १९ वर्ष कैद सजाय भोगिसकेको र वृद्ध भएको हुँदा कानुनले दिएको सुविधा पाउनुपर्ने माग गर्दै रिट दायर गरेका थिए ।
आदेशमा भनिएको छ- 'रिट निवेदक मुटुको रोगीको लागि ओपन हार्ट सर्जरी गर्नुपर्ने र हाल ७८ वर्षको वृद्ध देखिन्छ । कारागार नियमावली, २०२० को नियम २९ (२ क) ले ६५ वर्ष उमेर पुगेका कैदीहरुलाई असल चालचलनको आधारमा वा ओछ्यानमा परि निको नहुने अवस्थामा पुगेको कैदीलाई ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन सक्ने व्यवस्था गरेको देखिन्छ । यो सुविधा विदेशी नागरिकलाई समेत दिन सकिने देखिन्छ । हाल निजले १९ वर्ष कैद अर्थात् ९५ प्रतिशत कैद सजाय भुक्तान गरिसकेको देखिन्छ ।'
इजलासले साथै १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउनसमेत आदेश गरिएको छ ।
सन् १९७५ मा अमेरिकी र क्यानेडियन नागरिकको काठमाडौं र भक्तपुरमा दुई दिनको अन्तरमा भएको हत्या घटनामा उनी दोषी ठहरिएका छन् । उनी सन् २००३ देखि कारागार कार्यालय जगन्नाथदेवल सुन्धारामा छन् ।