• २०८१ बैशाख १४ शुक्रबार

सुर्य नेपाल काठमाडौं ओपन शुरु: पहिलो दिन रबिलाई अग्रता

kharibot

काठमाडौं । सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन ६-अन्डर ६२ को सानदार स्कोरमा भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पार्दै रबि खड्का शीर्षस्थानमा रहन सफल भएका छन् ।

५-अन्डर ६३ को स्कोर सहित भुवन नगरकोटी दोस्रो र ३-अन्डर ६५को कार्ड बनाएका शुक्र बहादुर राई तेस्रो स्थानमा छन् ।

यसैगरी २-अन्डर ६६ र १-अन्डर ६७ को स्कोर कार्ड तयार पारेका निरज तामाङ र रमेश अधिकारी क्रमशः चौंथो र पाँचौं स्थानमा छन्। इभन-पार ६८ बनाएका धन बहादुर थापा र जयराम श्रेष्ठले संयुक्तरुपमा छैटौं स्थान बाँडे ।

पार-६८को रोयल नेपाल गल्फ क्लबमा भएको खेलमा आज भएको पहिलो १८ होलको खेलमा रबि खड्काले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा ५-पारको पहिलो होलमा इगलको सफलता प्राप्त गरे। उनले चौंथो, पाँचौ र आठौं होलमा बर्डी प्रहार गर्दा छैटौं होलमा एक सट खेर फाले र फ्रन्ट नाइन ४-अन्डर ३० मा सकाए। यसपछि रबिले १०औं, १२औं र १३औं होलमा एक-एक सट बचाउँदा १५औं होलमा बोगी खेप्दै ब्याक नाइन २-अन्डर ३२ मा पुरा गरे ।

रबिलाई दबाब दिदै भुवन नगरकोटीले ५-अन्डर ६३ को स्कोरमा पहिलो दिनको खेल सकाए। राम्रो सुरुवात गरेका भुवनले पहिलो, दोस्रो र चौंथो होलमा एक-एक सट बचाए। नवौं होलमा बोगी प्रहार गर्दै भुवनले फ्रन्ट नाइन २-अन्डर ३४ मा पुरा गरे। यो लयलाई कायम राख्दै १०औं, १३औं र १३औं होलमा बर्डीको सफलता प्राप्त गरे। उनले ब्याक नाइन ३-अन्डर ३१ मा पुरा गरे ।

प्रोफेसनल गल्फ टुर अफ इण्डिया (पिजीटीआई) खेलिरहेका शुक्र बहादुर राई ३-अन्डर ६५ स्कोर जोड्दै तेस्रो स्थानमा छन्। उनी लिडर रबि भन्दा ३ स्ट्रोकले पछाडी रहेका छन्। फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाउने क्रममा शुक्रले पहिलो, दोस्रो र चौंथो होलमा बर्डी प्रहार गरे। आठौं होलमा भने एक सट खेर फाले। यसपछि उनले १३औं होलको बर्डीले ब्याक नाइन १- अन्डर ३३ मा सकाए ।

एमेच्योर तर्फ अजित बिके अग्रस्थानमा रहे। २-ओभर ७० खेल्दै प्रोफेसनल गल्फरद्वय राजेन्द्र श्रेष्ठ प्रधान र प्रदिप कुमार लामासंग ११औं स्थान बाँडेका अजित दोश्रो स्थानमा रहेका प्रज्जवल गुरुङभन्दा ८ स्ट्रोकले अगाडी रहेका छन् ।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना र सुर्य नेपाल प्राईभेट लिमिटेडको प्रायोजनमा जारी सिजनको पहिलो प्रतियोगितामा ३१ प्रोफेसनल र ५ एमेच्योर खेलाडीले सहभागिता जनाएका छन्। ३६ होलको समाप्ति पछि उत्कृष्ट २१ प्रो र ५ एमेच्योर खेलाडीले अन्तिम दुई दिनको खेलका लागि कट बनाउँने छन ।

कुल ६ लाख ७० हजार पुरस्कार राशी रहेको प्रतियोगिताको बिजेताले १ लाख १६ हजार प्राप्त गर्नेछन्। उपबिजेता प्रो खेलाडीले ७४ हजार तथा तेश्रो हुनेले ६३ हजार प्राप्त गर्नेछन्।  उत्कृष्ट २१ भित्र पर्न सफल प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै