• २०८१ बैशाख २१ शुक्रबार

इङल्याण्डले २२ वर्षपछि जित्यो पाकिस्तानमा टेष्ट

kharibot

काठमाडौँ । तीन खेलको टेष्ट सिरिजको पहिलो खेलमा इंग्ल्याण्डले पाकिस्तानलाई ७४ रनले पराजित गरेको छ ।

रावलपिण्डीमा भएको टेस्टमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले पहिलो इनिङ्समा ६५७ रन बनाएको थियो । यस क्रममा इंग्ल्याण्डका चार ब्याट्सम्यानले शतक प्रहार गरेका थिए । जसमा ज्याक क्राउली (१२२), बेन डकेट (१०७), ओली पोप (१०८) र ह्यारी ब्रुक (१५३) छन् ।

जवाफमा पाकिस्तानले आफ्नो पहिलो इनिङ्समा ५७९ रन बनाएको थियो । अब्दुल्लाह शफिकले ११४ रन, इमाम उल हकले १२१ रन र कप्तान बाबर आजमले १३६ रन बनाएका थिए । यसरी दोस्रो इनिङ्समा इंग्ल्याण्ड ७८ रनको अग्रता लिएर मैदानमा आएको थियो ।

दोस्रो इनिङ्समा इंग्ल्याण्डले सात विकेटमा २६४ रन बनाएर इनिङ्स घोषणा गरेको थियो । जो रुटले ७३ र ह्यारी ब्रुकले ८७ रन बनाए । योसँगै ज्याक क्राउलीले ५० रन बनाए । यसरी इंग्लिस टोलीले कूल ३४२ रनको अग्रता पाएको थियो र टोलीले पाकिस्तानलाई ३४३ रनको लक्ष्य दिएको थियो ।

जवाफमा पाकिस्तानको टोली पाँचौं दिनमा २६८ रनमा सिमित भयो । पाकिस्तानको दोस्रो इनिङ्समा साउद शकीलले सर्वाधिक ७६ रन बनाए । इंग्ल्याण्डका लागि दोस्रो इनिङ्समा ओली रोबिन्सन र जेम्स एन्डरसनले चार–चार विकेट लिए । ज्याक लिचले नसिम शाहलाई एलबीडब्लू गरेपछि पाकिस्तानको इनिङ्स २६८ रनमा समेटिएको थियो ।

इंग्ल्याण्डको टोली १७ वर्षपछि पाकिस्तान टूरमा रहेको छ र जसमा विजयी शुरुवात समेत अग्रेको छ । पछिल्लो १७ वर्षमा कुनै पनि टोलीले सुरक्षा कारणले पाकिस्तान भ्रमण गरेको थिएन । इंग्ल्याण्डले २२ वर्षपछि घरेलु मैदानमा पाकिस्तानविरुद्धको टेस्ट जित्न सफल भएको छ । इंग्ल्याण्डले अन्तिम पटक सन् २००० मा पाकिस्तानमा टेस्ट जितेको थियो । त्यसपछि तीन खेलको टेष्ट शृंखलाको तेस्रो खेलमा इंग्ल्याण्डले पाकिस्तानलाई कराचीमा ६ विकेटले पराजित गर्दै शृंखला १–० ले जितेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै