• २०८१ असार १८ मंगलबार

ढुक्क भएर मताधिकार प्रयोग गर्न गृहको आग्रह

kharibot

काठमाडौँ । गृह मन्त्रालयले यही मङ्सिर गते हुने निर्वाचनमा ढुक्क भएर मतदान गर्न आममतदातालाई आग्रह गरेको छ ।

भौतिक तथा हिंसात्मक गतिविधिमा संलग्न जोकोहिमाथि कडा निगरानी राखिएको उल्लेख गर्दै मन्त्रालयले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुने विश्वास दिलाएको छ । निर्वाचनको पूर्व तयारीबारे मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा गृह प्रवक्ता विनोद प्रकाश सिंहले कर्मचारी, मतदाता र मतपत्रको सुरक्षामा खतरा पुर्याउने व्यक्ति दल/समूह र सङ्गठनमाथि कडा निगरानी राखिएको बताए ।

उनले भने, “विगतभन्दा धेरै राम्रो निर्वाचन सुरक्षा व्यवस्था गरेका छौँ । सम्पूर्ण मतदातालाई उत्साहपूर्वक मताधिकार प्रयोग गर्न अनुरोध गर्दछु ।” 

मन्त्रालयको सुरक्षा तयारीबारे जानकारी दिँदै उनले भने, “केही दिन यता केही हिंसात्मक गतिविधिहरू देखिएका छन् । यस्ता खालका गतिविधिमा संलग्न व्यक्ति, समूह र सङ्गठनप्रति हामी ‘शून्य सहनशीलता’ मा छौँ । हामीले सूक्ष्म अनुगमन र कडा निगरानी गरिरहेका छौँ ।”

प्रवक्ता सिंहका अनुसार मतदान केन्द्र नजिक नौ सय तीन स्थानमा नेपाली सेनाको बम बिस्फोटक टोली खटाइएको छ ।

इजाजत प्राप्त र अवैध दुई हजार २५ थान हातहतियार सङ्कलन भएको छ । चालीस वटा स्थानमा हेलिकप्टरबाट मतपत्र ढुवानी गर्ने व्यवस्था गरिएको छ ।

यस्तै नेपाली सेनाको हेलिकप्टर इटहरी, बर्दिवास, पोखरा र सुर्खेतमा तयारी अवस्थामा राखिएको छ भने हवाई गस्ती समेत गरिरहेको छ । 

गृह मन्त्रालयका अनुसार देशभर अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुुसन्धान विभाग र म्यादी प्रहरी गरी दुई लाख ९८ हजार पाँच सय ७९ जनशक्ति परिचालित भएका छन् । मतदानस्थलको संवेदनशीलताअनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै