• २०८१ बैशाख १५ शनिबार

प्रधानमन्त्री कप क्रिकेट- पुलिसको जित

kharibot

काठमाडौँ  । नेपाल पुलिस क्लब लुम्बिनी प्रदेशलाई पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई छ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको हो ।

लुम्बिनीले दिएको एक सय ८९ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले ३७ दशमलव एक ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो ।

पुलिसको जितमा दीपेन्द्रसिंह ऐरीले अविजित रहँदै सर्वाधिक ४३ रनको योगदान दिए । त्यस्तै आरिफ शेखले ३५ रन बनाए भने सुनिल धमलाले ३६ तथा कुशल भुर्तेलले ३२ रन बनाए ।

त्यस्तै अमित श्रेष्ठले २८ रन बनाए । बलिङतर्फ लुम्बिनीका अनिल खरेलले दुई तथा दुर्गेश गुप्ता र मोहमद हुसेनले समान एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ४४ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय ८८ रन बनाएको थियो ।

लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ७४ रनको योगदान दिए । त्यसैगरी विशालविक्रम केसीले ३० रन जोडे भने प्रज्वल थापाले २३ रन बनाए ।

दुर्गेश थापा र मोहमद हुसेनले समान ११–११ रन जोडे । लुम्बिनीलाई एक सय ८८ रनमा समेट्ने क्रममा पुलिसका दीपेन्द्रसिंह ऐरी एक्लैले चार विकेट लिए ।

त्यस्तै सागर ढकाल र करण केसीले समान दुई–दुई विकेट झारे । जितसँगै पुलिस तीन खेलमा छ अङ्क जोड्दै समूह ‘बी’को शीर्षस्थानमा रहेको छ ।

पराजित लुम्बिनी दुई खेलमा दुई अङ्क जोडेर अङ्कतालिकाको दोस्रो स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै