• २०८१ बैशाख १४ शुक्रबार

मस्कले युक्रेनलाई दिएको सेटेलाइट इन्टरनेट सहयोग किन बन्द गर्दैछन् ?

kharibot

काठमाडौं । युक्रेनलाई इन्टरनेट सेवा दिएको एलन मस्कको कम्पनि स्टार लिंकले अब सो सेवालाई निरन्तरता दिन नसक्ने जनाएको छ ।

सिएनएनका अनुसार मस्कको कम्पनी स्पेस एक्सले अमेरिकी रक्षा मन्त्रालयलाई एक पत्र लेख्दै युक्रेनलाई दिदै आएको इन्टरनेटसेवालाई निरन्तरता दिन नसकिने जानकारी गराएको छ ।

गत फेब्रुअरीमा रुसले युक्रेनलाई आक्रमण गरेपछि मस्कले युक्रेनको इन्टर सेवालाई संचालन गर्न २० हजार स्टार लिंकका टावर पठाएका थिए । मस्कको यो सहयोगको विश्वभरबाट प्रसंशा भएको थियो ।

अहिले भने मस्कले स्पेस एक्सले युक्रेनलाई इन्टरनेट सहयोगमा आफ्नो ८० मिलियन डलर भन्दा बढी खर्च भएको बताउदै यस बर्षको अन्त्यसम्म सो रकम सय मिलियन डलर नाघ्ने बताएका छन् ।

ठुलो रकम खर्च भएको भन्दै मस्कले अब सहयोगलाई निरन्तरता दिन नसक्ने भन्दै अमेरिकी सरकारलाई सो सहयोग रकम तिर्ने सम्झौता गर्न वा आफ्ना स्टार लिंकका टावर फिर्ता ल्याइदिन आग्रह गरेको सिएनएनले उल्लेख गरेको छ ।

स्पेसएक्सले अमेरिकी रक्षा मन्त्रालयलाई युक्रेनलाई दिइएको सेटेलाइट इन्टरनेटको खर्च अर्को १२ महिनाका लागि करिन ४०० मिलियन डलर हुने पनि बताएको छ ।

यस घटनालाई पछिल्ला सातामा मस्कले रुस-युक्रेन युद्धको विषयमा सार्बजनिक गरिरहेको धारणालाई पनि जोडेर हेरिएको छ । मस्कले अहिले आएर रुसको पक्षमा बोल्न शुरु गरेको आरोप लगाइएको छ । केहि मिडिया रिपोर्टहरुमा मस्कले रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग पनि कुरा गरेको बताइएको छ तर यसको पुष्टि भने गरिएको छैन । मस्कले रुसले २०१४ मा कब्जा गरेको क्रिमियालाई रुसकै भागको रुपमा मानेर युद्धलाई अन्त्य गर्नुपर्ने राय राखेका छन् । मस्कको यो धारणाको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कको आलोचना गरेका थिए ।

मिडिया रिपोर्टका अनुसार युद्ध कहिलेसम्म चल्ने भन्ने स्पष्ट नभएको र मस्कमाथि पुटिनले चीनबाट दबाब बनाएको हुनसक्ने समेत अनुमान गरिएको छ । मस्कको कम्पनि टेस्लाको अमेरिकापछि ठुलो कार उत्पादन कारखाना चीनमा रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै