• २०८१ बैशाख १७ सोमबार

युरोपसँग बदला लिदै पुटिन

kharibot

काठमाडौँ । युक्रेनविरुद्को आक्रमणपछि आफुविरुद्ध विभिन्न प्रतिबन्ध लगाएका युरोपका देशहरुलाई रुसी राष्ट्रपति भ्लादमिर पुटिनले बदला लिन शुरु गरेका छन् । यसका लागि पुटिनले अघोषित र घोषित दुवै रणनीति प्रयोग गरिरहेको देखिएको छ । यसमा प्रमुख हतियार रुसबाट युरोपलाई सप्लाई हुने ग्याँसलाई बनाएको स्पष्ट भएको छ । 

युरोपेली देश कोसोभोमा आजकल हरेक घण्टा बिजुली गइरहेको छ । दिन र रातमा ६ घण्टासम्मको विद्युत् कटौतीले २० लाख जनसंख्या भएको मुलुकको समस्या थपिएको छ । यो युरोपको पहिलो देश हो जहाँ विद्युत कटौती र ग्यास अभावले भविष्यको चित्र देखाएको छ । यहाँ जनताले चिसो पानीले काम गर्नु परेको छ भने कार्यालयमा पनि बिजुलीको प्रयोग विवेकपूर्वक गर्नु परेको छ ।

हालै रुसले जर्मनी जाने महत्वपूर्ण ग्यास पाइपलाइन अनिश्चितकालका लागि बन्द गरेको छ । शुक्रबार रुसको सबैभन्दा ठूलो ग्यास कम्पनी गाजप्रोमले नर्ड स्ट्रिम पाइपलाइन पुनः खोल्नुपर्ने थियो तर यसको इन्जिन मर्मत नभएसम्म बन्द रहने बताएको छ । यो पाइपलाइन बन्द भएपछि अब युरोपमा ऊर्जा संकट गहिरिने अनुमान गरिएको छ । युरोपका धेरै विज्ञहरूले यस अवस्थाको लागि रुसलाई दोष दिइरहेका छन् । यो जाडो युरोपका लागि निकै घातक हुनसक्ने उनीहरुको भनाइ छ । यहाँको अवस्था बिग्रदै गएको भन्दै बेवास्ता गर्न नसकिने उनको भनाइ छ ।

भदौ महिनामा प्राकृतिक ग्यासको मूल्य ६१० प्रतिशतले बढेर प्रति हजार घनमिटर ३ हजार १०० डलर पुगेको छ । युरोपेली सरकारहरूले साना उपभोक्ताहरूलाई मद्दत गर्न पहिले नै २७९ बिलियन डलर विनियोजन गरिसकेका छन्, तर यो रकम धेरै कम छ । यो जाडोमा बेलायतका ८.५ मिलियन मानिसले ‘ऊर्जा गरिबी’को सामना गर्नुपर्ने बताइएको छ । धेरै ठाउँमा ब्ल्याकआउट सुरु भएको छ । हरेक ६ घण्टापछि दुई घण्टासम्म विद्युत् कटौती हुने गरेको छ । यस्तै अवस्था युरोपका अन्य केही देशहरूमा पनि हुने देखिएको छ ।

गाजप्रोम रूसको सरकारी स्वामित्वको ग्यास कम्पनी हो र यसले २०२१ देखि युरोपेली देशहरूमा ग्यास आपूर्ति कटौती गर्दै आएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले विपक्षीविरुद्ध कल्पना नगरेको हतियार प्रयोग गर्न थालेको विश्लेषण गरिएको छ । यो नयाँ रणनीति हो र विस्तारै पुटिन यसमा सफल हुँदैछन् । अब खतरा यो छ कि गाजप्रोमले रूसमाथि लगाइएको प्रतिबन्धको सजाय अन्तर्गत युरोपमा आपूर्ति पूर्ण रूपमा बन्द गर्न सक्छ ।

युरोपको ऊर्जा बजार पूर्णतया रूसमा निर्भर छ । विगत १० वर्षमा रुसले बिजुली र ग्यास बेचेर मात्र युरोपबाट १२० अर्ब डलर राजस्व कमाएको छ । यस्तो अवस्थामा रुसले यस्तो कदम चाल्नुअघि सोच्नुपर्ने विज्ञहरुको विश्वास छ । गाजप्रोमको कटौतीको कारण, जर्मनीमा ग्यास भण्डार २०२१ देखि खाली हुन थालेको छ । मार्च २०२२ देखि गाजप्रोमले कुनै न कुनै बहानामा ग्यास आपूर्ति रोकिरहेको छ । गाजप्रोमले फिनल्याण्ड, डेनमार्क, जर्मनी, नेदरल्याण्ड, पोल्याण्ड र बुल्गेरिया लगायत छ वटा खरिद गर्ने देशहरूमा ग्यास आपूर्ति कटौती गरेको छ ।

फाइदा उठाउदै चीन

गाजप्रोमले अब ग्यास आपूर्ति चीनलाई गर्न शुरु गरेको छ । सर्बियाको प्राकृतिक ग्यास पाइपलाइनमार्फत चीनमा ग्यास निर्यात भइरहेको छ । यो ग्यास लाइन सर्बिया देखि पूर्वी चीनसम्म जान्छ ।

सन् २०२१ देखि ग्यास निर्यात ६१ प्रतिशतले बढेको छ भने जुलाईसम्ममा ३ सय प्रतिशतले निर्यात बढेको छ । गाजप्रोमले यो सम्पूर्ण अवस्थाको लागि युरोप जिम्मेवार रहेको बताएको छ । युरोपको सबैभन्दा ठूलो ग्यास तथा तेल कम्पनी शेलका प्रमुख कार्यकारी बेन भान बर्डेनले यस्तो अवस्था आएपछि युरोपले धेरै वर्षसम्म राशनको रूपमा ऊर्जा प्राप्त गर्नुपर्ने चेतावनी दिएका छन् । यो संकट यो जाडोको मात्र हैन, आउने धेरै जाडोले सामना गर्नुपर्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै