काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विमान दुर्घटनामा घाइते भएकाहरुलाई अस्पताल पुगेर भेटेका छन् ।
देउवाले सिनामंगलको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत बिरामीलाई भेटी उनीहरुको अवस्थाबारे जानकारी लिएका हुन् । देउवाले उपचारमा कुनै कन्जुसाई नगर्न र उचित क्षतिपुर्तिको प्रवन्ध गर्न सरकारसँग पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सोमबार युएस बंगला एयरलाइन्सको विमान काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा ४९ जनाको मृत्यु २२ जना घाइते भएका थिए । दुर्घटनामा कुल ३३ नेपाली परेकोमा २२ जनाको मृत्यु भएको छ भने ११ जनाको हाल उपचार भइरहेको छ ।