• २०८१ बैशाख १७ सोमबार

वर्षासँगै चलेको हावाहुरीले खोटाङको हलेसी तुवाचुङमा लाखौँको क्षति

kharibot

खोटाङ । वर्षासँगै चलेको हावाहुरीले खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा लाखौँको क्षति पुर्याएको छ ।

केही दिनदेखि लगातार परिरहेको वर्षासँगै चलेको हावाहुरीले धानचमर लागेर घोगा बढ्दै गरेको अवस्थाको मकैबाली सोत्तर बनाउँदा लाखौँको क्षति भएको हो ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ, हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले लगायतका वडामा हावाहुरीले मकैको बोट ढालेर सखाप बनाएको छ ।

हावाहुरीले ११ वडा रहेको नगरपालिकाको अधिकांश ठाउँमा क्षति पुर्याएको नगरका प्रवक्ता एवं वडा नं ७ महादेविस्थानका कमल गिरीले बताए  । 

जिल्लाभर मुख्यबालीका रुपमा लगाइने मकै खेती लगाउने गरिएको तर हावाहुरीले उत्पादन दिनै नसक्ने गरी मकैको बोट ढलेको किसानले बताएका छन् ।

घोगा लाग्दै गरेको अवस्थामा भाँचिएर ढलेको मकै उठाउन नमिल्ने, उठाए पनि दाना नलाग्ने किसान बताउँछन् ।

मकैमा क्षति पुग्दा किसान निरास बनेको दुर्छिमका स्थानीय बासिन्दा एवं नेकपा (माओवादी केन्द्र) का युवा नेता तामन राईले बताए । 

हावाहुरीले फलफूल, रुख तथा बाँसका झाङसमेत लडाएको जनाइएको छ ।

नगर कृषि शाखाका संयोजक सुरज पाण्डेले भने हावाहुरीले मकैमा पुगेको क्षतिको औपचारिक जानकारी आउन बाँकी रहेको जानकारी दिए ।

दुर्छिमको चुमाखु, रातमाटेलगायत ठाउँमा लगाइएको मकैबाली हावाहुरीले ढालेर जमिनमा मिलाएको पाइएको छ ।

हावाहुरीले अर्खौलेको नवलपुर, पारीगाउँ, फेदीलुबुलगायत अधिकांश वडामा मकै ढालेको वडाध्यक्ष अर्जुन पुरीले बताए । 

हावाहुरीले मकैमा पुर्याएको क्षतिको विषयमा जताततैबाट गुनासो आइरहेको धितुङका वडाध्यक्ष टेकराज राईले बताए ।

मकै सुख्खाग्रस्त क्षेत्र हलेसी तुवाचुङ नगरपालिकाका स्थानीय बासिन्दाको प्रमुख बाली हो । वर्षासँगै चलेको हावाहुरीले अन्नबालीमा पुर्याएको क्षतिबारे अनुगमन समिति गठन गरेर स्थलगत अध्ययनपछि कृषकलाई राहत उपलब्ध गराउने तयारी गरिएको नगर प्रमुख विमला राईले बताइन् ।

“वर्षासँगै चलेको हावाहुरीले नगरपालिकावासी किसानको लाखौँ क्षति भएको छ”, उनले भनिन्, “उनीहरूलाई राहत दिलाउन अनुमगन समिति गठन गरेर स्थलगत अध्ययन गर्ने तयारी भइरहेको छ ।” 

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकामा गत वर्ष लामो समयको खडेरीले मकैको बोट सुकेपछि उत्पादनमा गिरावट आएको थियो ।

मकै, कोदो, बदाम, गहत, जुनेलो र फापर खेतीमात्र हुने सुख्खाग्रस्त क्षेत्र हलेसीमा लामो समयको खडेरीले असर गरेपछि नगरवासीमा भोकमरी भएको थियो ।

खानेपानीसमेत आकाशबाट झरेको वर्षाद्को पानी सङ्कलन गरेर उपभोग गर्दै आएका हलेसीका स्थानीयवासी लामो समयको खडेरीले खेतीपातीको काम नहुँदा ज्यालादारीको काम खोज्न सहर पसेका थिए ।

खेतीपातीबाहेक अन्य पेशा तथा व्यवसाय नहुने स्थानीयवासीलाई नगरपालिकाबाट राहत अनुदान वापत रु एक करोड ४० लाख बजेटबाट  विनियोजन गरेर खाद्यान्न वितरण गरिएको थियो । वर्षासँगै चलेको हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा क्षति गरेको किसानले बताएका छन् ।

हावाहुरीले पुर्याएको  क्षतिको विवरण आउन बाँकी रहेको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले जानकारी दिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै