• २०८१ बैशाख १९ बुधबार

घाटामा बलिवुड: पहिलो ६ महिना मात्रै ३ फिल्म हिट !

kharibot

काठमाडौँ । कोरोना अवधिको दुई वर्षमा बलिउडले २१ हजार करोड भारतीय रुपैयाँ गुमाएको छ भने बक्स अफिस कमाईमा ८० प्रतिशतले गिरावट आएको छ । अब सन् २०२२ मा पनि बलिउड उद्योगले केही खास उपलब्धि हासिल गर्ने देखिँदैन । पहिलो ६ महिनामा दर्जनौं ठूला हिन्दी फिल्म रिलिज भएका छन् । यसमा करिब १६ सय करोड रुपैयाँ लगानी गरिएको थियो ।

जसमा भुल भुलैया २, द कश्मीर फाइल्स र गंगुबाई काठियावाडीले बक्स अफिसमा कमाइ गर्न सफल भए । यी फिल्महरूले उत्कृष्ट कलेक्सन गरेका छन् । अर्कोतर्फ बच्चन पाण्डे, सम्राट पृथ्वीराज र धाकड जस्ता बिग बजेटका फिल्म नराम्ररी फ्लप भए । पहिलो ६ महिनामा १४०० करोड मात्र कमाई हुनसकेको छ भने करिब २०० करोड घाटामा गएको छ ।

करिब ८० करोडमा बनेको भूल भुलैया-२ ले बक्स अफिसमा २८५ करोडभन्दा बढी कमाई गरेको छ भने द कश्मिर फाइल्सले २५२ करोड कमाई गरेको छ । त्यस्तै गंगुबाई काठियावाडीले १२९ करोड कमाई गरेको छ । 

अबको ६ महिनामा पनि बलिउडको २५०० करोड दाउमा परेको छ । तर, साउथका ठूला फिल्मसँग टक्करका कारण उनीहरुको सफलतामा आशंका गरिएको छ । रिलिजपछि फिल्मले कस्तो प्रदर्शन गर्ने हो भन्न नसकिने तर साउथका ठूला फिल्म आएसँगै संकटको अनुमान लगाउन सकिन्छ ।

२२ जुलाईमा रिलिज हुने फिल्म शमशेरामा रणवीर कपूर पहिलो पटक दोहोरो भूमिकामा देखिनेछन् । १५० करोडको लगानीमा बनेको यो एक पिरियड एक्शन फिल्म हो जसमा रणवीरसँगै वाणी कपुर र सञ्जय दत्त मुख्य भूमिकामा छन् ।

अक्षय कुमारको फिल्म रक्षाबन्धन ३० करोडको बजेटमा तयार भएको छ र यो फिल्मबाट दर्शकको ठूलो आशा छ । फिल्मलाई आनन्द एल राईले निर्देशन गरेका छन् जसको अघिल्लो फिल्म अतरंगी रेले राम्रो चर्चा पाएको थियो ।

दुई वर्ष पछिपछि अन्ततः आमिर खानको फिल्म लाल सिंह चड्ढा ११ अगस्टमा रिलिज हुँदैछ । करिब १८० करोडमा बनेको यो फिल्म हलिउड फिल्म फरेस्ट गम्पको हिन्दी रिमेक हो । फिल्म लाइगर २५ अगस्टमा रिलिज हुने स्पोर्ट्स एक्सन फिल्म हो । यो फिल्मबाट साउथ स्टार विजय देवरकोंडाले बलिउडमा डेब्यु गर्दैछन् । १२५ करोडको लगानीमा बनेको यस फिल्ममा विजयसँगै अनन्या पाण्डे र माइक टायसन पनि देखिनेछन् ।

त्यस्तै अयान मुखर्जी द्वारा निर्देशित, ब्रह्मास्त्र बलिउडको अहिलेसम्मको सबैभन्दा ठूलो बजेटको जीएफएक्स फिल्म हुनेछ । यो एक सुपरहिरो काल्पनिक फिल्म हो, जसमा रणवीर कपुर, अमिताभ बच्चन, आलिया भट्ट, नागार्जुन जस्ता ठूला स्टारहरू देखिनेछन् । यस फिल्मको लगानी ५०० करोड भन्दा बढी बताइएको छ ।

त्यस्तै करिब ५० करोडको लागतमा बनेको एक भिलेन रिटर्न, ८० करोडमा बनेको रामसेतु, ४० करोडमा बनेको तेजस, ६० करोडमा बनेको शाहजादा, ४० करोडमा बनेको दृश्यम-२, ८० करोडमा बनेको सर्कस जस्ता फिल्म आगामी ६ महिनामा रिलिज हुदै छन् ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै