• २०८१ बैशाख १६ आइतबार

नेपालका लागि थाइल्यान्डका राजदूत र हस्तकला महासंघका पदाधिकारी बीच भेटवार्ता

kharibot

काठमाडौँ l नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासाफ र नेपाल हस्तकला महासंघको पदाधिकारीहरु बीच भेटवार्ता भएको छ । नेपाल र थाइल्याण्ड बीच विभिन्न हस्तकला सम्बन्धी कला शील्प तथा प्रविधि आदान प्रदान गर्न भेटवार्ता भएको हो l राजदूत लगायत उनका धर्मपत्नी र थाइल्याण्डको शाही राजदूतावासका नियोग उपप्रमुखलाई समेत महासंघका अध्यक्षले स्वागत गरेको थियो ।
 
थाइल्याण्डको बैंककमा बर्षेनी आयोजना हुने जेम एण्ड ज्वेलरी सो जस्ता हस्तकला व्यापार मेलाहरुमा नेपाल हस्तकला महासंघका हस्तकला उद्यमी व्यवसायीहरुलाई सहभागिता गराउन अनुरोध गर्दै अध्यक्ष शाक्यले हस्तकला व्यवसायी र हस्तकलाकर्मीहरुलाई थाइल्याण्ड र नेपालबीच कला, शिल्प तथा प्रविधि अध्ययन अवलोकन गर्न अवसर प्राप्त हुने बताए । 

साथै बैंककमा नेपालमा उत्पादित वस्तुहरुलाई अन्तर्राष्ट्रिय बजारमा पहिचान गराउन नेपाल एकदेशिय मेला आयोजना गर्नु पर्ने आवश्यकतालाई मनन गर्दै नेपाली हस्तकला उद्यमी, व्यसायी र कलाकारहरुले आयातकर्ताहरुको चाहना अनुरुप वस्तु डिजाईन र रङ्ग संयोजनका बारेमा र विदेशी क्रेता विक्रेताहरु वीच एक आपसमा ब्यापारिक अनुभव, सीप, प्रविधि र डिजाईनको आदान प्रदान गर्न समेत यस्ता मेलाले सहयोग पुग्ने पनि शाक्यले बताए । 

त्यस्तै उनले थाइल्याण्डको च्याङमाई विश्वविद्यायको अनुरोधमा ७ दिने धातुपत्र कला र मूर्तिको तालमान सम्बन्धमा उनले दिएको प्रशिक्षणको स्मरण गर्दै कला आदान प्रदान कार्यक्रम आगामी दिनहरुमा गर्दै जानु पर्ने बारे राजदूतलाई ध्यानाकर्षण गराए । 

साथै महासंघका वाणिज्य क्षेत्रका उपाध्यक्ष दिल्ली रत्न तुलाधरले नेपाली हस्तकलाको बजार प्रवद्र्धनका लागि थाईल्याण्ड सरकारले नेपाली वस्तुहरुको निर्यातमा लगाएको भन्सार महशुल सम्बन्धी र थाइल्याण्ड सरकारबाट नेपाली सम्पदाहरुको निर्माण गर्न सहयोगको अपेक्षा राखे । 

उक्त भेटघाटमा महासंघले उठाएका विषयवस्तु विशेष गरी थाइल्याण्ड सरकारले नेपाली हस्तकला वस्तुमा लगाएको भन्सार महसुल सम्बन्धमा थाइल्याण्डका राजदूतले थाइल्याण्ड सरकारसंग कुरा गर्ने प्रतिवद्धता दिए । त्यस्तै महासंघका वरिष्ठ उापध्यक्ष सनम शाक्यले उपस्थित सबैलाई धन्यवाद दिदै हस्तकला उद्योग व्यवसायको प्रवद्र्धनको लागि महासंघ र थाइल्याण्ड राजदूतावासको सहकार्यमा धेरै कार्यहरु गर्न सकिने बताए ।

महासंघमा भएको भेटवार्ता पश्चात राजदूतद्धारा ललितपुरको कनिबहाल र ओकुबहालका स्थानीय कलाकार तथा कालिगढहरुको कार्यशालामा धातु पाता एवं मैनबाट गरिने धातुकला ढलाई सम्बन्धी जीवन्त कार्यको अवलोकन गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय