• २०८१ बैशाख १८ मंगलबार

कतार विश्वकपमा किन हुदैछ जिदानको 'हेडबट' को चर्चा

kharibot

काठमाडौँ । यो वर्ष फिफा विश्वकप कतारमा हुदै छ । यसका लागि तयारी सुरु भइसकेको छ । सबै खेल साँझको समयमा गर्ने योजना बनाइएको छ । साथै रंगशाला चिसो राख्न विशेष कुलिङ सिस्टमको पनि व्यवस्था गरिएको छ । यसका साथै कतारले प्रतियोगितामा प्रदर्शनका लागि विवादास्पद मूर्ति राख्ने व्यवस्था पनि गरिरहेको छ ।

यो विवादास्पद मूर्ति २००६ को विश्वकप फाइनलमा फ्रान्सका जिनेदिन जिदानले इटालियन डिफेन्डर मार्को माटेराजीको पेटमा टाउकोले हानेको अवस्थाको हो । जिदानले इटालियन डिफेन्डर मार्को माटेराजीको पेटमा टाउकोले प्रहार गरेपछि उनलाई रातो कार्ड दिइएको थियो । यस घटनालाई 'हेडबट' नाम दिइएको थियो ।

यो जिदानको यस 'हेडबट' प्रकरणलाई पाँच मिटर, १६ फिट लामो कांस्यको मूर्तिमा बनाइएको थियो जसमा जिदानले माटेराज्जीलाई हानेको चित्रण गरिएको थियो । सन् २०१३ मा दोहाको ‘सी फ्रन्ट’ मा पनि चार साताका लागि लगाइएको थियो ।

तर, केही विवादपछि फिर्ता लिइएको थियो ।

अब यस वर्षको फिफा विश्वका लागि यो मूर्तिलाई पुनर्स्थापना गर्ने तयारी भइरहेको छ । कतारका प्रधानमन्त्री शेखा अल-मायासा बिन्त हमाद बिन खलिफा अल थानीले मानसिक स्वास्थ्य र तनावसँग लड्न सिकाउने मूर्ति दोहाको नयाँ अन्तर्राष्ट्रिय खेलकुद संग्रहालयमा स्थापना गरिने बताएका छन् ।

अल थानीले भने- 'यो सार्वजनिक कला मात्र होइन । सी फ्रन्टमा राख्नु उचित नहोला जस्तो लाग्यो, त्यसैले यो मूर्ति पुनः स्थापना गर्न लागिएको हो । हामीले यसलाई ३-२-१ संग्रहालयमा पुन: स्थापना गर्ने योजना बनाएका छौं । जिदान कतारका असल साथी हुन् । यससँगै उनी अरबका लागि रोल मोडल पनि हुन् ।' जिदानको प्रतिमा मार्फत, हामी खेलाडीहरूलाई तनावसँग कसरी व्यवहार गर्ने भनेर सिकाउने उनले बताए ।

म्युजियमका अधिकारीहरूले नोभेम्बर २१ मा विश्वकप सुरु भएसँगै मूर्ति प्रदर्शनमा आउने बताएका छन् ।

हेडबटको मूर्ति अल्जेरियामा जन्मेका फ्रान्सेली कलाकार एडेल अब्देसले बनाएका हुन् । २०१३ मा मूर्ति स्थापना पछि, यसले केही रूढिवादीहरूलाई आक्रोशित गरेको थियो । यसपछि सामाजिक सञ्जालमा एउटा अभियान चल्यो जसमा मानिसहरूले मूर्ति स्थापना गर्ने निर्णयको निन्दा गरेका थिए । 

कतारले विगत दुई दशकमा नयाँ सङ्ग्रहालय र कलाका लागि करोडौं डलर खर्च गरेको छ । कतारले पनि विश्वकपका लागि ठूलो अभियानको योजना बनाएको छ । फिफा विश्वकप २०२२ का लागि दोहामा १४ लाख दर्शक आउने अपेक्षा गरिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै