काठमाडौँ । ग्लोबल आइएमई बैंकले नेपाल–भारत भित्रका ग्राहकहरुलाई क्यूआर सुविधा सुचारु गर्नको लागि पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्रा.ली) संग सम्झौता गरेको छ ।
उक्त सम्झौता अनुसार यस बैंकको मोबाईल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गरी भारतमा आफ्ना ग्राहकहरुलाई सामान खरिद गर्दा क्यूआर मार्फत भारतपे,पेटिएम,गूगल पे लगायतका विभिन्न भारतीय भुक्तानी प्रणालीमा कारोवार गर्न सकिने छ । उक्त सुविधा प्रदान गर्नको लागि सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र पेमेन्ट नेपालका प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले हस्ताक्षर गरेका हुन् ।
सेवा संचालनमा आएपश्चात, यस सुविधाबाट नेपाल र भारतबीचको क्रस बोर्डर (सीमा वारपार) भुक्तानी सम्भव हुनेछ । अब भारतीय बैंक तथा वित्तीय संस्था र अन्य भुक्तानी प्रदायकको भुक्तानी सेवा जस्तै भारतपे,पेटिएम,गूगल पे आदिबाट नेपाली र भारतीय व्यापारीबीच क्यूआर पेमेन्ट मार्फत भुक्तानी गरी व्यापारिक कारोबार गर्न सकिनेछ ।
साथै, बैंकका ग्राहकहरूले पनि भारतीय व्यापारीहरुलाई यसै सुविधाको प्रयोग गरी भुक्तानी गर्न सक्नेछन ।
त्यस्तै, ग्राहकहरूले भारतीय बैंक तथा वित्तीय संस्था र अन्य भुक्तानी सेवा प्रदायकहरुबाट ग्लोबल आईएमई बैंकको खातामा रकम स्थानान्तरण गर्न पनि सक्नेछन । यसले क्रस बोर्डर रेमिट्यान्स व्यवसायलाई समेत बढावा दिनेछ ।
सुरक्षित र भरपर्दो माध्यमको रुपमा विकास हुँदै गरेको डिजिटल पेमेन्ट प्रणालीको प्रवद्र्धनका लागि सधैं अग्रसर रहेको ग्लोबल आइएमई बैंकले जनाएको छ ।
बैंक हाल देस्भरि २८९ शाखा, २५४ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ४९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।