• २०८१ बैशाख १७ सोमबार

विवाह खर्च कटाएर ४० लाख सामाजिक सेवामा

kharibot

तस्बिर : रासस

काठमाडौँ । नवविवाहित पन्त दम्पतीले विवाहमा खर्च हुने रकम सामाजिक सेवामा लगाएको छ । 

सुदिज्ञ पन्त र सविना पोखरेलले आफूहरुले विवाहमा लाग्ने सम्पूर्ण खर्च कटाएर नेपाल क्यान्सर केयर फाउन्डेशन र पुण्यार्जन फाउन्डेशनलाई रु २०÷२० लाख सहयोग गरेका हुन् । 

यहाँ आज आयोजित कार्यक्रममा सर्वोच्च अदालतका न्ययाधीश दीपकराज जोशीले यस्तो कार्यलाई अभियानका रुपमा विकास गरी सबैलाई उत्प्रेरित गर्नुपर्ने धारणा राखे ।

सुदिज्ञका पिता वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले सामाजिक रीतिरिवाजमा हुने खर्च सामाजिक काममा लगाउन सके समाजमा सकारात्मक परिवर्तन र जनतामा सहयोगको भावना विकास हुने भएकाले परोपकारी संस्थालाई सहयोग गरिएको बताए । 

पूर्वमन्त्री डा प्रकाशचन्द्र लोहनीले परम्पराका नाममा लाखौँ खर्च गर्ने संस्कार बढ्दै गएका अवस्थामा परोपकारी कार्यले सबैमा सकारात्मक सन्देश जाने बताए ।

विशेषगरी स्त्रीरोग तथा पाठेघरको अर्वुदरोगका क्षेत्रमा काम गरिरहेको नेपाल क्यान्सर केयर फाउन्डेशनका सदस्य डा सरिता घिमिरे र पुण्यार्जन फाउन्डेशनका अध्यक्ष डा सुशील कोइरालाले यस्ता सहयोगले सामाजिक कार्यमा लाग्न थप हौसला मिलेको बताए । सो अवसरमा आइकेयर नेपालले दुवै संस्थालाई ५०० अष्ट्रेलियन डलर सहयोगको घोषणा गरेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै