• २०८१ बैशाख १४ शुक्रबार

ओलम्पिकपछि पनि वार्तालाई निरन्तरता दिनुपर्छ : राष्ट्रपति इन

kharibot

सोल । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले आगामी ओलम्पिक खेलकूदपछि पनि दुई कोरियाबीचको वार्तालाई जारी राख्नुपर्नेमा जोड दिएका छन् । 

सोमबार आफ्नो सचिवालयका अधिकारीहरुलाई गरेको सम्बोधनमा उनले सो धारणा राखेका हुन् । उनले भने, ‘उक्त खेलकूदपछि पनि वार्ताको वातावरण बनाउनुपर्छ ।’ उनले आफू वार्ताप्रति आशावादी भएको र आगामी दिनमा पनि वार्तालाई निरन्तरता दिनुपर्छ भन्ने गृहकार्यमा लागिपरेको बताए । 

आगामी फेब्रुअरी ९ देखि २७ सम्म दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलमा उत्तर कोरियाले सहभागिता जनाउने भएको समाचार यसअघि नै आएको थियो । 

सो खेलकूदका कारण दुई कोरियाबीच गएको महिना दिनयता तीन पटकसम्म उच्चस्तरीय वार्ता भएको छ भने चार वर्षयता पहिलो पटक उत्तर कोरियाली अधिकारीहरुले दक्षिणको भ्रमण गरेका छन् । 

उत्तर कोरियाले आफ्ना खेलाडीको टोली र अन्य खेलकूद अधिकारी पठाउने जानकारी यसअघि नै दिइसकेको छ । यसले गर्दा यी दुई देशबीचको सम्बन्धमा पछिल्लो समयमा सुधार आएको देखिएको छ । 

उक्त खेलकूदमा २२ जना एथलेट्स र अरु खेलकूद अधिकारी उत्तरले दक्षिण पठाउन लागेको छ । ती खेलाडीको नामावली र उनीहरुले खेल्ने खेलका बारेमा ओलम्पिक कमिटीले अनुमोदन गरिसकेको बताइएको छ । 

उक्त खेलकूदलाई विगत लामो समयदेखि शत्रुतापूर्ण सम्बन्ध रहिआएका यी दुई देशको सम्बन्ध सुधारका लागि वातावरण थप सौहार्द बनाउने एक माध्यमका रुपमा विकास गर्न विश्व समुदायले नै आग्रह गरिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै