• २०८१ बैशाख १४ शुक्रबार

कांग्रेसलाई युवा बनाउने कि युवाहरु नेता हुने ?

kharibot

काठमाडौँ । निर्वाचन परिणामपछि समस्त कांग्रेसजनमा पराकम्पन गएको छ । सत्ताबाट पाँच वर्षसम्म टाढा बस्नुपर्ने स्थितिमा पीडा हुनु सामान्य नै हो । तर बजारमा कांग्रेसले भोग्नुपरेको हारका कारणहरुबारे भने धेरै असामान्य विश्लेषणहरु सुन्न र पढ्न पाइएको छ । 

कतिपयले यसलाई कांग्रेस सकिएको विश्लेषण गरेका छन् । कांग्रेसकै युवानेता विश्वप्रकाशको शब्द सापटी लिने हो भने कांग्रेस घाटमा पुगेको अवस्था होइन तर बिरामीचाहिँ भएकै हो । 

यस विश्लेषणलाई मान्ने हो भने कांग्रेस बिरामी त भयो तर रोग कुनचाहिँ लाग्यो त भन्ने कुरा पत्ता लगाउन केही युवानेताहरु जुर्मुराएको देखिएको छ । केही दिनअगाडि मेलमिलाप दिवसको अवसर पारेर कांग्रेसका सात जना युवानेताहरुले एउटा हस्तलिखित वक्तव्य जारी गरे र नेतृत्वलाई तुरुन्त केन्द्रीय समिति र महासमिति बैठक बोलाउन आग्रह गरे । 

यसअघि निर्वाचन परिणाम आउनासाथ प्रतिक्रिया दिँदै युवानेताहरु गगन थापा र विश्वप्रकाश शर्माले मिडियामा कांग्रेसलाई तुरुन्तै नयाँ किसिमले चलाउनुपर्ने विषयलाई राम्रैसँग उठाए । तर अहिले प्रश्न कांग्रेसको नेतृत्व नै रोगी हो कि अरु केही हो भन्ने कुरा प्रष्टसँग भने उनीहरुले पनि राख्नसकेका छैनन् । युवानेता थापाले सार्वजनिक रुपमै नेतृत्वमा हस्तक्षेप गर्ने कुरा गरेको सुनिन्छ र गत महाधिवेशनमा महामन्त्रीमा उम्मेदवार बनेर प्रयास गरेको त देखिन्छ तर त्यसले घनीभूत सफलता पाउनसकेको देखिँदैन । थापाकै शब्दमा कांग्रेसमा नेतृत्वमाथि धावा बोल्न त्यति सजिलो छैन ।   

तर यसो भन्दैमा अब कांग्रेस यसरी नै चल्छ त ? अहिले कांग्रेसका नेता कार्यकर्ताहरुमा उठेको ठूलो प्रश्न हो यो । परम्परागत रुपमा हेर्ने हो भने कांग्रेसमा चुनाव हारेर पार्टी नेतृत्वले राजीनामा दिएको इतिहास नै देखिँदैन । त्यो चाहे केन्द्रीय नेतृत्वमा होस् या अन्य तहमा । एमालेमा २०६४ को निर्वाचन हार्दा तत्कालीन महासचिव माधव नेपालले राजीनामा गरेर राम्रो राजनीतिक संस्कारको परिचय दिएका थिए तर त्योबाहेक खासै उल्लेख्य उदाहरण नेपाली राजनीतिमा छैन ।

कांग्रेसभित्र नेतृत्वले सबै कुरालाई केन्द्रीकृत गरेर प्रजातान्त्रिक पार्टीभित्र गर्ने अप्रजातान्त्रिक राजनीति अहिलेदेखिको होइन, स्थापनाकालदेखिकै हो । कांग्रेसको इतिहास हेर्ने हो भने जो नेतृत्वमा छ ऊ नै सर्वेसर्वा हुन्छ । सामूहिक नेतृत्वको उदाहरण कांग्रेसमा गणेशमान, कृष्णप्रसाद भट्टराईको पालामा अलिअलि देखिए पनि त्यो धेरै समय टिक्नसकेन । 

त्यसैले अहिले कांग्रेसका युवा नेताहरुलाई नेतृत्वमाथि आँखा लगाएर उत्तेजित हुनुभन्दा कांग्रेसको असली रोग पत्ता लगाउनुपर्ने विषयले प्राथमिकता पाए नेताहरुका लागि सन्तुलित रुपमा पार्टीपंक्तिको कमजोरी सुधार्ने महत्वपूर्ण कडी हुनसक्छ । कांग्रेसले प्रत्यक्ष र समानुपातिकमा पाएको भोट हेर्ने हो भने अघिल्लो चुनावभन्दा खासै फरक छैन । त्यतिमात्रै हो, अलिकति तलमाथि चाहिँ भएकै छ । तर एमाले र माओवादी मिल्दा अंकगणितीय रुपमा कम सिट हाता परेको यथार्थतालाई लुकाउन मिल्दैन । 

पार्टीले भोगेको पराजयपछि झस्किएका केही युवानेताले चुनावी परिणामपछि तात्तातो जिब्रो नेतृत्वमाथि फट्कारे पनि निर्वाचनअघि युवानेताहरुको भूमिकालाई हेर्ने हो भने आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित हुनेबाहेक त्यस्तो उल्लेख्य प्रतिबद्धता र चुनावकेन्द्रित चलायमान नदेखिएकै हो । गगन थापाले बाबुराम भट्टराईको सभामा भाषण गर्न भ्याए तर त्यहीनजिकै रामचन्द्र पौडेललाई सघाउन भ्याएनन् अथवा भनौँ गएनन् । थापाले काठमाडौँ ४ मा आफूले जित्दै गर्दा उपत्यकामा कांग्रेसको अवस्था नाजुकै देखियो । नविन्द्रराज जोशी जस्ता नेताले पराजय भोगे  युवानेता र अलि प्रभाव राख्ने नेताले समयको व्यवस्थापन गरेर कम्तीमा आफ्नो जिल्ला, अञ्चल वा प्रदेश जिम्मा लिएर चुनाव जित्ने गरी सार्थक प्रयास गरेको भए त्यही नै महत्वपूर्ण राजनीतिक हस्तक्षेप हुने थियो ।

यो उदाहरणका रुपमा प्रस्तुत गरिएको एउटा प्रतिनिधि विवरण हो । गगनमात्र नभएर यो सबै युवानेतामा लागू हुन्छ । झापामा विश्वप्रकाश पनि आफू पनि पराजित भए तर अन्य क्षेत्रका उम्मेदवारलाई सहयोग गर्नेमा उनको भूमिका कमजोर देखिएकै हो । चुनावी परिणामले यही भन्छ ।

त्यस्तै चन्द्र भण्डारीले गुल्मीबाट हार व्यहोरे र जनताले विकासलाई सजाय दिए भन्ने किसिमको प्रतिक्रिया दिए । गुल्मीमा दुवै क्षेत्र गुमाएको कांग्रेसले समग्र लुम्बिनी अञ्चलमा कपिलवस्तुमा एक, रुपन्देहीमा दुई तथा नवलपरासीमा एक र नवलपुरमा एक सिट जित्यो । यसमा भण्डारीजस्ता प्रभावशाली नेताको भूमिका के रह्यो ? भन्ने प्रश्न उठ्नु पर्छ की पर्दैन ?  

यहाँ व्यक्तिमाथि प्रश्न उठाउन खोजेको होइन तर कहीँ न कहीँ नेतृत्वदाबी गर्ने नेताहरुको भूमिकाको खोजी त हुनुपर्छ होला नि हैन र ? त्यस्तै अर्का नेता प्रदिप पौडेल प्रदेशसभामा झिनो मतले पराजित भए । तनहुँलगायत कांग्रेसको गढमै कांग्रेस यसपटक नराम्ररी पराजित भयो । 

त्यस्तै अर्को पक्ष छ निर्वाचनमा धनराज गुरुङ, गुरु घिमिरे, बद्री पाण्डेजस्ता युवाहरुले टिकट नपाउँदा चन्द्र भण्डारी, गगन थापा, प्रदिप पौडेलहरुले किन प्रतिवाद गरेनन् ? भित्र पार्टीमा गरे होलान्, या के गरे, त्यो देखिएन तर प्रतिवाद सार्वजनिक रुपमा गर्नुपथ्र्यो अनि हुन्थ्यो हस्तक्षेप । 

कांग्रेसमा तुरुन्तै नेतृत्व फेर्दैमा या युवानेताहरुलाई ल्याउँदैमा कायापलट हुने अवस्था देखिँदैन । ठूलो कुरा राजनीतिक संस्कारको विकास हो र त्यो गर्न युवा नेताहरु अहिले पनि स्वतन्त्र छन् । आ—आफ्नो प्रदेश, जिल्लामा आफ्नो प्रभाव देखाएर चुनाव जिताएका भए अहिले नेतृत्वमाथि आँखा लगाउनु स्वाभाविक हुन्थ्यो । सारा पार्टी र नेता हारिरहेका बेला बूढानेताहरुलाई दोष दिएर युवा तथा आशा गरिएका नेताहरु हस्तलिखित वक्तव्यको भरमा किनारै किनार निस्किन खोज्नु कांग्रेसका लागि झन् खतरनाक हुनसक्छ । 

अहिले धेरैजसोले सभापति शेरबहादुर देउवाले पार्टी सभापतिबाट राजीनामा देलान् र आफूले केही पद पाइएला कि भन्ने आशामा राजनीति गर्न खोजेका जस्तो मात्र देखिएको छ । डा. शेखर कोइरालाले त सभापति चलाउन सक्छु भन्दै हिँडिसकेका छन्, त्यस्तै प्रकाशमान सिंहले पनि पार्टी नेतृत्वको दाबी गर्दै आएका छन् । तर उनीहरुको दाबीमा कांग्रेसका नेता कार्यकर्ताले प्रकाशमानलाई काठमाडौँमा कांग्रेस किन हार्यो ? स्थानीय चुनावमा प्रकाशमानका कारण कांग्रेस हरेको थाहा हुँदाहुँदै यो प्रश्न उनलाई कांग्रेसजनले किन गरेनन् ? 

स्थानीय चुनावमा हारको समिक्षा किन घनिभूत रुपमा भएन ? की यसको  आवश्यक थिएन, थियो भने युवा नेताहरुले किन यसमा आवाज उठाएनन् ? प्रश्न त उठिरहेको छ ।

 त्यस्तै मोरङमा कांग्रेसले किन जितेन भन्ने प्रश्न डा. शेखरलाई गर्लान् त ?अवश्य गर्दैनन्, किनकि कांग्रेसमा त्यो संस्कार छैन । कांग्रेस यसरी नै चलेको छ । कहिल्लै कुनै नेतालाई हारेको दोष गएको छैन, कांग्रेसमा जितेको जस मात्र जान्छ ।

अहिले गगन थापाहरुले खोज्नुपर्ने उत्तर र तोड्नुपर्ने विषय यही हो । प्रश्न गर्नुपर्यो — तनहुँमा रामचन्द्रज्यू, झापामा सिटौलाज्यू किन हार्नुभयो ? आफ्नो क्षेत्र जोगाउन किन सक्नुभएन ?

एमाले—माओवादी मिलेर हारेको भन्ने जवाफमा अब गगन थापाहरुले प्रतिप्रश्न गर्न सक्नुपर्छ । त्यसो भए त किन पौडेल र सिटौलालाई उठाएको कोही साधारण कार्यकर्तालाई उठाएको भए इज्जतसाथ हारेर त आउँथ्यो । 

अन्त्यमा, कांग्रेसको संस्कार प्रजातान्त्रिक बनाउन जरुरी छ । युवानेताहरुले हस्तक्षेप गर्ने हो भने सही राजनीतिक संस्कार बसाल्न आफैँबाट सुरु गर्नुपर्यो । त्यसैले अहिले कांग्रेसीजनहरु युवाहरुलाई नेता बनाउन भन्दा पनि कांग्रेसलाई युवा बनाउन लाग्नु पर्यो विचारले, कार्यक्रमले अनि व्यवहारले । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै