मस्को, रसिया । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले रसियालाई आधुनिकीकरण गर्ने आफ्नो अवधारणा शनिबार रसियाली सत्ताधारी दलको महाधिवेशनमा प्रस्तुत गरेका छन् ।
पुटिनले आगामी मार्चमा हुने राष्ट्रपतिको निर्वाचनमा आफ्नो उम्मेदवारी रसियालाई थप समुन्नत बनाउदै आधुनिकीकरण गर्न लक्षित रहने बताएका छन् । उनले रसियाली सत्ताधारी पार्टी यूनाइटेड रसियाबाट उम्मेदवारी नदिई यस पटक स्वतन्त्र उम्मेदवारका हैसियतमा नयाँ कार्यकालका लागि प्रतिस्पर्धा गर्दै छन् ।
तरपनि उनी शनिबार रसियाली सत्ताधारी यूनाइटेड रसियाको महाधिवेशनमा सहभागीता जनाएका छन् । कार्यक्रममा उनले रसियाको अन्य मुलुकसँग व्यापार प्रवद्र्धन, भ्रष्टाचारलाई रोक्ने, रसियामा अहिले कम लगानी रहेको स्वास्थ्य सेवा तथा शिक्षामा लगानी गरी रसियालाई अघि बढाउने काममा आफ्नो नयाँ कार्यकाललाई केन्द्रित गर्ने बताए ।
रसियाली नेता पुटिनलाई टक्कर दिन अन्य उम्मेदवार पनि मैदानमा आउने घोषणा भएपनि पुटिनले नयाँ कार्यकालमा जीत निकाल्ने पक्कापक्की नै रहेको निर्वाचनका विषयमा लिइएका सर्भेक्षण नतिजाले देखाएका छन् ।
यद्यपि उनको विपक्षमा उभिन रसियाली टेलिभिजनका प्रसिद्ध टेलिभिजन कार्यक्रम प्रस्तोता क्सेनिया सोबचक सहित केही नेताले पनि मार्चमा हुने राष्ट्रपतीय निर्वाचनका लागि शनिबार औपचारिक रूपमा उम्मेदवारीको दर्ता गरेका छन्