काठमाडौँ । नेपाल थाइल्याण्डको बैककमा जारी एसिसि यु१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको खेलमा नेपालले मलेसियालाई ७२ रनले पराजित गर्दै उपाधिका लागि सिंगापुरसँग खेल्ने भएको छ ।
नेपालले दिएको १२८ रनको लक्ष्य पछ्याएको मलेसिया २१.१ ओभरमा ५५ रनमा अलआउट भएको थियो । मलेसियालाई ५५ रनमा अल आउट गर्ने क्रममा नेपालका लागि सूर्य तामाङले चार र प्रतिश जिसीले तीन विकेट लिएका छन् ।
मलेसियाका लागि सन्देश सुप्रमन्नियमले १६ रन बनाउनु बाहेक बाँकि खेलाडी दोहोरो रन बनाउन सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३४ ओभरमा झारिएको खेलमा ८ विकेट गुमाउँदै १२७ रन बनाएको थियो ।
नेपालका लागि प्रतिश जिसीले सर्वाधिक २५ रन बनाए । नारायण जोशी र सुनिल भण्डारीले १७, १७ रनको योगदान दिए। म्यानमारविरुद्ध सतक प्रहार गरेका कप्तान रित गौतमले ११ रन बनाए भने त्रितराज दाशले १३ रन बनाएका थिए ।
आजै भएको पहिलो सेमिफाइनलमा सिंगापुरले हङकङलाई आठ विकेटले पराजित गरेर प्रतियोगिताको फाइनलमा पुगेको छ ।