काठमाडौँ । यसै सिजनमा बार्सिलोनाबाट पिएसजी गएका ब्राजिलियन नेइमारलाई बायर्न म्युनिखका फ्यानले अपमान गरेका छन् ।
गएराती बायर्न म्युनिखसँग भएको च्याम्पियन्स लिग अन्तर्गतको खेलमा जर्मनी फ्यानहरुले नेइमारको नामको ५ सय युरोको नोट प्रिन्ट गरेर स्टेडियम भित्र प्रदर्शन गरेका हुन् ।
जर्मनी मिडियाका अनुसार नेइमारको तस्बिर प्रिन्ट गरिएको ५ सय युरोको नक्कली नोट र ब्यानर सहित फ्यानहरुले स्टेडियम भित्र असन्तुष्टि जनाएका थिए ।
मिडिया रिपोर्टका अनुसार यसका दुई वटा कारण उनीहरुले दिएका छन् । पहिलो कारण बार्सिलोनाबाट नेइमार पिएसजी जाँदा फिफाको फाइनान्सियल फेयर प्लेको पालना नगरिएको र दोस्रो युएएफएले यस अघिको बायर्न म्युनिखले ब्रसेल्समा खेलेको एण्डरलेच्टसंगको खेलको टिकट दर महँगो गरेकोले फ्यानहरुले सो को विरोध गरेको बताइएको छ ।
सो खेलमा बायर्न म्युनिखका फ्यानहरुलाई एक सय युरो टिकट दर तोकिएको थियो । जर्मनी फ्यानहरुले सो सय युरो फिर्ता गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।
बायर्नसँगको खेलका क्रममा नेइमारले कर्नर हान्न लागेका बेला उनलाई निशाना बनाएर ति नक्कली नोट फालिएको बताइएको छ । फ्यानहरुले फालेका नक्कली नोट कर्नर हान्न गएका नेइमारले हेर्दै त्यसलाई नदेखेको जस्तो गरेका थिए ।
बायर्न म्युनिखसँगको खेलमा पिएसजी ३-१ को हार बेहोरेको थियो । खेलमा हार बेहोरेपनि पिएसजी दोस्रो चरणमा भने गएको छ ।