काठमाडौं । लामो समयदेखि बन्न नसकेको गोपीकृष्ण—कपन जोड्ने सडकको मर्मतसम्भार कार्य सुरु भएको छ । दुई वर्षयता अलपत्र सडकको निर्माणका लागि यस क्षेत्रका जनताले पटक पटक बाटो बन्द गराएका थिए ।
घाम लाग्दा धूलाम्मे र पानी पर्दा हिलाम्य भएर जनताले सास्ती खेप्दै आएको गोपीकृष्ण—साततले हुँदै कपन जोड्ने बाटो निर्माण सुरु भएपछि स्थानीयले केही राहत महसुस गर्नथालेका छन् ।
बाटो मर्मत सुरु भएसँगै कपनवासी हर्षित भएका छन् । कपन बस्ने भगवती केसीले बाटो बन्न चुनाव नै पर्खेजस्तो भएको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘लामो समयपछि बाटो बन्न लागेको छ, धेरै खुसी लागेको छ ।”
हाल सडक विभागले बाटो निर्माणलाई तीव्रता दिइरहेको छ । यो बाटो निर्वाचन क्षेत्र ४ अन्तर्गत पर्छ । यहाँबाट कांग्रेसका गगन थापा र एमालेका डा. राजन भट्टराई आगामी २१ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा एक अर्काविरुद्ध प्रतिस्पर्धा गर्दै छन् ।
नेताहरुलाई चुनाव लागे पनि यहाँका जनतालाई भने सडक कहिले बन्ला र धूलो र हिलोबाट मुक्ति पाइएला भन्ने चिन्ताले सताउँदै आएको थियो ।
अब विभागले धमाधम काम सुरु गरेपछि यहाँका स्थानीयलाई राहत मिल्नेछ ।
तस्बिर : कविता घिमिरे/खरीबोट