• २०८१ बैशाख १८ मंगलबार

पानामापछि प्याराडाइज पेपर्सको हलचल : एप्पलदेखि बेलायतकी महारानीसम्म करछलीमा  

kharibot

काठमाडौँ । अहिले चर्चामा रहेको प्याराडाइज पेपर्स तीन सय असीभन्दा बढी पत्रकारहरूको समूहले करिब एक वर्ष लगाएर अफसोर कम्पनीमा लगानीको तथ्यांक अध्ययन गरी सार्वजनिक गरिएको विवरण हो । 

समाचार संस्थाहरू बिबिसी, द गार्जियन र न्युयोर्क टाइम्सलगायतका राष्ट्रका करिब एक सय समाचार एजेन्सीहरूको सहभागितामा आइसिआइजेले करिब १ करोड ३४ लाख कर छलीका फाइलहरू अफसोरमा लगानी भएको आइतबार सार्वजनिक गरेको छ । विश्वका करिब १ लाख २० हजार व्यक्ति तथा व्यावसायिक कम्पनीले १९ ट्याक्स हेभेन मुलुकमा गरेको लगानी विवरणमा समेटिएको छ । सो विवरणमा ७० वर्षका डकुमेन्टहरू समावेश गरिएका छन् । 

कर छुट र आयको स्रोत खुलाउनुनपर्ने भएकाले ट्याक्स हेभेन मुलुकमा अफसोर कम्पनीमा ठूलो रकम लगानी हुने गरेको छ ।  

पानामा पेपर्स काण्डको एक वर्षपछि अन्तर्राष्ट्रिय खोज पत्रकार समूह (आइसिआइजे)ले अर्को सनसनीपूर्ण विवरण सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक ‘प्याराडाइज पेपर्स’ नामक विवरणमा बेलायती महारानी एलिजाबेथ द्वितीयसहित विश्वका धेरै राष्ट्रप्रमुख, पूर्वप्रमुख, राजनीतिज्ञ, कलाकार र खेलाडीका अतिरिक्त विश्वका ठूला कम्पनीले ट्याक्स हेभेनमा सम्पत्ति लुकाएको खुलासा भएको हो । गत वर्ष सार्वजनिक भएको यस्तै प्रकृतिको विवरण पानामा पेपर्सले पनि विश्वका विभिन्न राष्ट्रका प्रमुख, राजनीतिक दलका नेता तथा व्यापारीलाई विवादमा तानेको थियो । पानामा पेपरमा मुछिएका तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई गत जुलाईमा सर्वोच्च अदालतले दोषी ठहर गरी अपदस्थसमेत गरेको थियो ।

को–को तानिए प्याराडाइज पेपर्समा ?

बेलायती महारानी एलिजाबेथ द्वितीया, कोलम्बियाका राष्ट्रपति जुआन म्यानुअल सान्तोस र लाइबेरियाका राष्ट्रपति एलेन जोन्सन गरी तीनजना राष्ट्रप्रमुखले ट्याक्स हेभेनमा सम्पत्ति लुकाएको खुलेको छ । महारानी एलिजाबेथ द्वितीयाले मेडिकल र उपभोक्तालाई ऋण दिने कम्पनीमा दशौँलाख डलर लगानी गरेको खुलेको छ । जोर्डनकी रानी नूर अलहुसैन, कोस्टारिकाका पूर्वराष्ट्रपति जोसे मारिया फिगरेर्स पनि सोही मुद्दामा तानिएका छन् ।

यसैगरी, पाकिस्तानी पूर्वप्रधानमन्त्री सौकात अजिज, अस्ट्रियाका पूर्वचान्सलर अल्फ्रेड गुसेन्बर, जर्मनीका पूर्वचान्सलर गर्हार्ड र जापानका पूर्वप्रधानमन्त्री युकिओ हातोयामा पनि प्याराडाइज पेपर्सको मुद्दामा मुछिएका छन् । सबैभन्दा धेरै क्यानडाका तीनजना पूर्वप्रधानमन्त्रीहरू जिन क्रेटिअन, पाउल मार्टिन, ब्रिआन मुल्रोनी पनि प्याराडाइज पेपरको मुद्दाले विवादित बनेका छन् ।

सन् २००४ मा अमेरिकाको राष्ट्रपतिका उम्मेदवार वेस्ली क्लार्क, रुसका लागि अमेरिकाका राजदूत जोन हन्टस्म्यान, अमेरिकी केन्द्रीय बैंकमा अनुगमन शाखाका उपाध्याक्ष रान्डल क्वार्लस पनि तानिएका छन् । क्यानडा, घाना, इन्डोनेसिया, जोर्डनका केही नेता तथा सरकारी अधिकारीहरूका आफन्तसमेत सो मुद्दामा मुछिएका छन् । भारत सरकारका उड्ययनमन्त्री जयन्त सिन्हा र भारतीय जनता पार्टीका राज्यसभाका सांसद रवीन्द्रकिशोर सिन्हा पनि यो मुद्दामा गाँसिएको भारतीय समाचार संस्था इन्डियन एक्स्प्रेसले जानकारी दिएको छ ।

एप्पलपनि कर छलीमा :

विश्वको सबैभन्दा बढी मुनाफामा रहेको एप्पल कम्पनीले अर्बौं डलर कर छलीका लागि नयाँ गोप्य उपाय अपनाएको प्याराडाइज पेपरले देखाएको छ । 

प्याराडाइज पेपर्सको नाममा विश्वका धनी तथा शक्तिशाली व्यक्तिले लुकाएको सम्पत्ति सम्बन्धी वित्तिय दस्तावेज चुहावट भएको छ । चुहावट भएको वित्तिय दस्तावेज अनुसार अमेरिकी कम्पनी एप्पलले सन् २०१३ मा कर छलीका लागि ट्याक्स हेवन अर्थात अफसोर कम्पनी रहेका देशमा लगानी गरेको खुलासा भएको बिबिसीले उल्लेख गरेको छ ।
एप्पलसँग अहिले कर नतिरिएको अफसोर रकममो मात्रा दुई सय ५२ बिलियन अमेरिकी डलर रहेको प्याराडाइज पेपर्सले देखाएको छ । एप्पलले भने आफ्नो नयाँ प्रणालीले आफूहरुको कर रकमलाई कम नगरेको दाबी गरेको छ । 

प्याराडाइज पेपर्स नाममा सार्वजनिक भएको दस्तावेजमा बेलायतकी महारानीको निजी सम्पत्तिको विवरण पनि छ । प्याराडाइज पेपर्सले एक करोड ३४ लाख कागजात छन् । विश्वभरका एक सय भन्दा बढी सञ्चार संस्थानले यि कागजात सम्बन्धमा अनुसन्धान गरिरहेका छन् । गएको वर्ष पानामा पेपर्स सार्वजनिक गरेको जर्मन पत्रिका ज्युड डायचे त्साइटुंगले यि कागजात प्राप्त गरेको थियो ।

यि दस्तावेजको जाँच इन्टरनेशनल कन्सोर्शियम अफ इन्वेस्टिगेटिव जर्नालिस्ट्स ९आइसिआइजे० ले गरेको छ । अब यो हप्ता भरमा सयौं व्यक्ति तथा कम्पनीको कर र वित्तिय अवस्थाको जानकारी सार्वजनिक हुनेभएको छ ।

विश्वका ठूला कम्पनी कर छलीमा

विश्वकै ठूला बहुराष्ट्रिय कम्पनीहरू एप्पल, माइक्रोसफ्ट, फेसबुक, इ–बे, ग्लेनकोर, युबर, नाइक, वालमार्ट, एलियान्ज, सिमेन्स, म्याक डोनाल्ड र याहुले पनि कर छली गरेको सो विवरणमा उल्लेख छ । तर, एप्पल, नाइक र फेसबुकले भने कर छली गरेको मुद्दा अस्वीकार गरेको ‘द एक्सप्रेस ट्रिब्युन’ ले जानकारी दिएको छ । यसैगरी, भारतीय विद्युतीय उपकरण निर्माण कम्पनी भिडियोकन, युनाइटेड स्पिरिटस् जिन्दल स्टिल तथा पावर कम्पनीलगायत एपोलो टायर पनि सो सूचीमा समावेश छन् । भारतीय कलाकार अमिताभ बच्चन, मान्यता दत्त, अमेरिकी गायिका म्याडोनालाई पनि प्याराडाइज पेपर्सले कर छली गर्नेको सूचीमा समेटेको छ ।

बेलायती महारानीकै १ करोड पाउण्ड गोप्य लगानी !

लिक भएको वित्तीय दस्तावेजले दुनियाभरका धनी र शक्तिशाली मानिसहरु गोप्य रुपमा ट्याक्स हेभन देशमा ठूलो लगानी गर्ने गरेको खुलासा गरिदिएको छ ।

ब्रिटिश महारानीदेखि डोनाल्ड ट्रम्पका वाणिज्यमन्त्रीसम्म यस लिकमा मुछिएका छन् । यो लिकलाई प्याराडाइज पेपर्स भनिएको छ । यसमा १.३४ करोड दस्तावेज लिक भएको छ । यसमा धेरैजसो दस्तावेज विदेशी लगानी देखिने एउटा कम्पनीको छ । विश्वभरका करिब सय मिडिया संस्थानहरुले यस दस्तावेजको जाँच गरिरहेका छन् । पछिल्लो वर्ष लिक भएको पानामा पेपर्सजस्तै यो दस्तावेज पनि जर्मन अखबार ज्युड डिउच त्साइटुंगले हासिल गरेको थियो । दस्तावेजको जाँच इन्टरनेशनल कन्सोर्सियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट्स (आईसीआईजे)ले गरिरहेका छन् । यो हप्ताभरमा सयौँ कम्पनी र मानिसहरुबारे उपलब्ध वित्तीय जानकारी बाहिर आइरहने बताइएको छ ।

सबै खुलासासँगै कसरी नेताहरु, बहुराष्ट्रिय कम्पनीहरु, सेलिब्रेटीहरु, उच्चपदस्थहरुले ट्रष्ट, फाउण्डेशन, कागजी कम्पनीहरुद्वारा करअधिकारीबाट आफ्नो धन गोप्यरुपमा राखेका छन् भन्ने खुल्नेछ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रडोका नजिकका सहयोगी यस्तो विदेशी स्किमसँग जोडिएका छन् कि जसका कारण देशलाई करोडौँ डलरको नोक्सान पुग्नसक्छ । ट्याक्स हेभन देशलाई बन्द गराउन अभियान नै चलाउने ट्रुडोको लागि यो एकदमै शर्मनाक कुरा हो ।

यस्तै द प्याराडाइज पेपर्सको लिकबाट बेलायती महारानीको निजी धनमध्ये करिब १ करोड पाउण्ड विदेशमा लगानी गरिएको पत्ता लागेको छ । उक्त लगानी डची अफ लंकाष्टरले क्यामन आइल्याण्ड्स र बरमुडाको फण्डमा लगानी गरेका थिए । उनले नै उक्त लगानी सम्हाल्दै आएका छन् । यस लगानीमा केही गैरकानुनी नभएको बताइएको छ । यसको संकेत पनि मिलेको छैन । तर यसले बेलायतकी महारानीले विदेशमा लगानी गर्न आवश्यक छ कि छैन भन्ने प्रश्न भने खडा गरिदिएको छ ।

त्यस्तै यो लिकमा गरिबको शोषण गरेको आरोप झेलिरहेको रिटेलर समूहले ब्राइटहाउसमा पनि थोरै लगानी गरेको खुलेको छ भने यसले अफ लाइसेन्स फर्म थ्रेसर्समा पनि लगानी गरेको खुलेको छ । यो कम्पनीले पछि १.७५ करोड पाउण्डको लेनदेनसँगै आफ्नो काम बन्द गरेको थियो । जसबाट ६ हजार मानिसको जागिर सकिएको थियो । तर डचीका अनुसार फण्डको लगानीबारे लिइएको निर्णयमा समावेश थिएन । उता आफ्नो लागि गरिएको लगानीबारे महारानीलाई जानकानरी भए नभएको भन्नेबारे भने केही संकेत मिलेको छैन ।

रुस र ट्रम्पलाई पनि अप्ठ्यारो ?

सन् १९९० को दशकमा विल्बर रसले डोनाल्ड ट्रम्पलाई बचाएका थिए । अहिले ट्रम्पले सोही कारण उनलाई वाणिज्य मन्त्री बनाइदिएका छन् । दस्तावेजबाट पत्ता लागेअनुसार रसले एक जहाज कम्पनमिा लगानी गरे जो रुसको एउटा ऊर्जा कम्पनीको लागि ग्यास र तेलको कारोबारबाट करोडौँ डलर कमाउने गर्छ । रुसको ऊर्जाफर्ममा भ्लादिमिर पुटिनका ज्वाइँ र अमेरिकाको प्रतिबन्धको सामना गरिरहेका दुई मानिसको पनि लगानी छ । त्यसकारण यसले डोनाल्ड ट्रम्पको टिम र रुसको बीचको सम्बन्धलाई लिएर पुनः प्रश्न खडा हुने देखिन्छ । किनभने गत वर्षको राष्ट्रपतीय चुनावमा रुसले ट्रम्पलाई जिताउन उल्लेख्य सहयोग गरेको आरोपबारे अमेरिकाको विशेष आयोगले अनुसन्धान अघि बढाइरहेको छ । यद्यपि ट्रम्पले भने यसलाई झूटो भनी बारम्बार इन्कार्दै आएका छन् ।

कहाँबाट आयो यो दस्तावेज ?

धेरैजसो दस्तावज एप्पलबी कम्पनीको रहेको छ । बरमुडामा रहेको यो कम्पनी कानुनी सेवा दिने गर्छ । यसले आफ्नो क्लाइन्टलाई शून्य वा एकदमै कम करयुक्त देशमा कम्पनीहरु स्थापित गर्न मद्दत गर्छ । कम्पनीको दस्तावेज र क्यारेबियाई क्षेत्रको कर्पोरेट रजिष्टरको दस्तावेज जर्मन अखबार ज्युड डाँयचे त्साइटुंगले हासिल गरेको थियो । अखबारले आफ्नो स्रोत सार्वजनिक गरेको छैन । लिकपछि एप्पलबीले आफ्ना क्लाइन्ट र सम्बद्ध कम्पनीले केही गलत नगरेको पुष्टि गरेको बताएको छ ।

अफसोर फाइनान्स के हो ?

यो भनेको यस्तो स्थान हो जहाँ कसैले पनि आफ्नो देशको कानुनदेखि बाहिर रहन सक्छ । जसबाट मानिस वा कम्पनीहरुले पैसा, सम्पत्ति वा लाभ कतै अन्तै पठाएर थोरै करबाट धेरै फाइदा उठाउन सक्छ । यस्तो स्थानलाई सामान्य जनस्तरमा ट्याक्सहेभन भन्ने गरिन्छ । उद्योगहरुको भाषामा यसलाई अफसोर फाइनान्सियल सेन्टर (ओएफसी) भन्ने गरिन्छ । यो सामान्यतया गोप्य, स्थिर र विश्वसनीय हुन्छ । बेलायत यस क्षेत्रको सबैभन्दा ठूलो खेलाडी हो । किनकि उसको धेरै विदेशी क्षेत्र र राजशाही निर्भर क्षेत्र भनेकै ओएफसी हो । यद्यपि धेरै काम गरिरहेका वकिल, एकाउन्टेन्ट र ब्यांकर भने लण्डनमा बस्ने गर्छन् ।

यसका आलोचकहरुले भने गोप्य लगानी गलत कार्यमा हुनसक्ने र त्यो खतरनाक हुने भनी आलोचना गर्ने गरेका छन् । प्याराडाइज पेपर्स धेरै संख्यामा लिक दस्तावेज हो । यसमा धेरैजसो दस्तावेज अफसोर कानुनी फर्म एप्पलबीसँग सम्बन्धित रहेको छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै