काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तार गर्दै राप्रपालाई सहभागी गराएपछि राजनीतिक अन्योलता बढेको छ ।
प्रधानमन्त्री देउवाले नयाँ मन्त्रीहरुको सुची सहित सपथका लागि पत्र राष्ट्रपति कार्यालयमा पठाएको भएपनि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्मा थप गर्न सिफारिश गरेको सन्दर्भमा निर्वाचन आयोग र कानुनविद्सँग परामर्श गर्ने भएकी छन् ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको आचारसंहिता जारी भएको स्थितिमा मन्त्रिमण्डल विस्तारबारे निर्वाचन आयोगका प्रमुख आयुक्त, आयुक्तहरु र कानूनविज्ञसँग छलफल गरेर शपथ ग्रहणबारे राष्ट्रपतिले निर्णय गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयको यस भनाईले राप्रपाका नयाँ मन्त्रीको सपथ रोकिने सम्भावना बढेको छ । सरकारको कदमलाई राष्ट्रपति कार्यालयले निर्वाचन आयोगको सल्लाह लिने भनेपछि यो प्रकरण अब पेचिलो बनेको छ ।
आचारसंहिता जारी भएकै अवस्थामा प्रधानमन्त्री देउवाले यसअघि गरेको मन्त्रिमण्डलको विस्तारलाई आचारसंहिता विपरीत भएको आयोगले जनाएको थियो ।
कतिपय सञ्चारमाध्यममा शनिबार नै नयाँ मन्त्रीहरुको शपथग्रहण कार्यक्रम हुने भनी दिएका समाचारमा सत्यता नभएको राष्ट्रपतिको कार्यालयले स्पष्ट पारेको छ ।
यसअघि विहिबार एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई भेटि सरकार विस्तार लगायत माओवादी मन्त्रीहरुलाई निकाल्ने कदम नचल्न चेतावनी दिएका थिए ।