• २०८१ बैशाख १७ सोमबार

अजर, अमर, अविनाशी जेलीफिस 

kharibot

लण्डन, बेलायत । भूमध्य सागर र जापानका नदीहरूमा पाइने जेलीफिससँग एक अनौठो क्षमता छ । यो आफ्नो शरीर बदलेर पुनः युवावस्थामा आउन सक्छ । 

युनिभर्सिटी कलेज लण्डनका प्राध्यापक डा. म्याक्सिमिना युनले तयार पारेको एक अध्ययन प्रतिवेदनअनुसार एकप्रकारले अमर मानिने जेलीफिसको प्रजाति टुर्रिटोप्सिस डोहर्नीसँग एक यस्तो क्षमता छ जसको सहायताले यसले आफ्नो सेल्सलाई बदलेर कुनै पनि उमेरमा आफ्नो आकार परिवर्तन गर्दै वृद्धावस्थाबाट पुनः बालावस्थामा आउन सक्छ । 

जेलीफिसको यो युवावस्थामा परिणत हुने प्रक्रिया अचम्मको छ । यसका कारण जेलीफिस सधैं जीवित रहन सक्छ भनिन्छ । विशेषतः जेलीफिस बिरामी हुँदा या कुनै खतरा देखिँदा यो प्रक्रिया सक्रिय हुन्छ । 

यो प्रक्रियाको सुरुमा जेलीफिसको बेल र टेन्टाकल बदलिन्छ र पोलिप बन्छ । यो बिरुवाको आकारमा पानीमुनि सतहसँग जोडिएर रहन्छ । शरीरलाई परिवर्तन गर्ने यो प्रक्रियालाई सेलुलर ट्रान्सडिफरेन्सिएसन भनिन्छ । यो प्रक्रिया बारम्बार हुन सकिन्छ । यो प्रक्रियालाई बुझ्न अझै अध्ययन गर्नुपर्ने डा. युनले बताएका छन् । जेलीफिसको मृत्यु भएको पनि देखिएको छ । त्यसैले यो पूर्ण रूपमा अमर भने छैन । तथापि, यो प्रक्रिया निकै अनौठो छ । 

मानिसले पनि पुनः आफ्नो शरीर बदलेर पुनर्जन्म लिन सक्छ त ? 

यदि विचार गर्ने हो भने आगोले जलेको, चोट लागेको र घाममा डढेको दाग हराएर पुनः ठीक हुन सक्छ । हाम्रो शरीरका कतिपय सेल्स मरेर पुनः नयाँ सेल्स उत्पन्न हुन्छन् । त्यसैले हाम्रो शरीरमा लागेका कतिपय रोग, दाग, घाउ, चोटपटक ठीक भएर हामी पुनः तन्दुरुस्त हुन सक्छौं । 

सालामाण्डार नाम गरेको छेपारो प्रजातिको एक जीवले आफ्नो शरीरको अधिकांश भाग बदल्न सक्छ । अध्येताहरूका अनुसार सालामाण्डारले एक विशेष प्रोटिनलाई रोकेर सेल्सलाई नयाँ रूप दिन सक्छन् । यदि सालामाण्डार, जेलीफिसजस्ता जीवको शरीर परिवर्तन गर्ने प्रक्रिया पत्ता लगाउन सक्ने हो भने मानिसको शरीरलाई पनि वृद्धावस्थाबाट परिवर्तन गरेर युवावस्थामा ल्याई मानिसको आयु लम्ब्याउन सकिने र यो मानव इतिहासकै एक महत्त्वपूर्ण उपलब्धि हुने बीबीसी अर्थमा प्रकाशित एक लेखमा डा. युनले उल्लेख गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै