• २०८१ बैशाख १७ सोमबार

जुलियन असान्जलाई अमेरिका सुपुर्दगी गर्न लण्डनस्थित अदालतको आदेश

kharibot

काठमाडौँ । लण्डनमा जेलमा रहेका विकिलिक्सका संस्थापक जुलियन असान्ज अमेरिकामा सुपुर्दगी हुनको लागि एक कदम नजिक पुगेका छन् । लन्डनस्थित एक अदालतले असान्जको सुपुर्दुगीको आदेश स्वीकृतिको लागि बेलायती सरकारलाई पठाएपछि उनलाई अमेरिका हस्तान्तरण छिटो गरिने सम्भावना बढेको छ ।

अदालतले बुधवारको सुनुवाईमा औपचारिक सुपुर्दगी आदेश जारी गरेको छ । अब अदालतको आदेशलाई बेलायती गृहमन्त्री प्रिती पटेलले औपचारिक स्वीकृत दिएपछि असान्जको सुपुर्दुगी हुने बताइएको छ । तर असान्जले अदालतको आदेशविरुद्ध अपिल गर्न सक्ने व्यवस्था रहेको छ ।

विकिलिक्सले २०१० मा हजारौं फाइलहरू र कूटनीतिक केबलहरू प्रकाशित गरेपछि उनी अमेरिकामा १८ आपराधिक आरोप लगाइएको छ । अमेरिकाले लगाएका आरोपमा असान्ज दोषी ठहरिए १७५ वर्ष जेल सजाय हुने बताइएको छ ।

असान्ज लन्डनको उच्च सुरक्षा बेलमार्श जेलबाट सुनुवाइमा सामेल भएका थिए । जहाँ उनलाई तीन वर्ष अघि लन्डनमा इक्वेडोरको दूतावासबाट बाहिर निकालिएपछि राखिएको थियो । 

असान्जले यस अघि सात वर्षसम्म इक्वेडरको दूतावासमा कूटनीतिक शरणमा बसेका थिए । जनवरी २०२१ मा, मजिस्ट्रेटको अदालतको फैसलाले असान्जलाई उनको मानसिक स्वास्थ्यको कारण देखाएर सुपुर्दगी गर्न नसकिने आदेश दिएको थियो ।

तर उच्च अदालतले डिसेम्बरमा उक्त निर्णयलाई उल्टाउँदै असान्जलाई त्यहाँ उनको उपचारको बारेमा अमेरिकी सरकारले दिएको आश्वासनको आधारमा अमेरिका सुपुर्दगी गर्न सकिने बताएको थियो।

असान्जले गत महिना बेलमार्श जेलमा आफ्नो दीर्घकालीन साथी स्टेला मोरिससँग विवाह गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै