झापा। झापाका महिला तथा युवाहरुले बलात्कारीलाई फाँसीको माग गदै आज बिरोध र्याली निकालेका छन् । दैनिक जसो महिला हिंसा तथा बलात्कारका घटना घटेको बिरोधमा झापाका महिलाहरुले नारा, जुलुस लगाउँदै बिर्तामोड नगर परिक्रमा गरेका छन् ।
सडकमा निस्किएका महिलाहरुले बलात्कारीलाई फाँसीको माग गरेका छन् । छोरीचेली समाजमा पूजिनुपर्छ बलात्कार गरेर मारिनु हुँदैन् भन्ने उनीहरको माग रहेको छ ।
खरीबोटसँग कुरा गदै महिला अधिकारकर्मी सावित्रि सुवेदीले शिक्षित जिल्ला झापामा निरन्तर बलात्कारका घटना भईरहनु दुख्द भएको बताईन् । यस्तो बेला स्थानीय सरकार चुप लागेर बसेको उनले आरोप लगाईन् । उनले भनिन् , "कहिलेसम्म हामी छोरीचेली बलात्कृत भएर मर्ने, हामीले अधिकार पाइसक्यौँ , घरघरमा सिंहदरबार आइसक्यो भनिन्छ, तर हाम कोही सुरक्षित छैनौँ ।"
अधिकारकर्मी सुवेदीले बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग गरीन् । बलात्कृत भएर उजुरी गर्न जाँदा प्रहरी प्रशासनले प्रमाण माग्ने र स्थानीय सरकारमा जाँदा राजनीतिकरण गरीने उनको भनाई छ । आफुले ६ महिनामा देशभरी २७ वटा र झापामा मात्रै ७ वटा बलात्कारीका घटनामा न्यायको लागी लडेको बताईन् ।