• २०८१ बैशाख १५ शनिबार

चितवनमा बाघ–गैँडा देखाउन ‘भ्यू–टावर’ निर्माण

kharibot

फाइल तस्विर । 

चितवन / पर्यटकलाई दुर्लभ एकसिंगे गैँडा र पाटे बाघलगायत वन्यजन्तु अवलोकनका लागि चितवनको कुमरोजस्थित जंगलमा भ्यू–टावर निर्माण गरिएको छ । 

चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको कुमरोजमा हालै दुई तलाको आकर्षक भ्यू–टावर निर्माण गरिएको कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष हीराबहादुर गुरुङले बताए । दुई वटा भ्यू–टावर भने हालसालै निर्माण भएको वनका कार्यालय सचिव भरत नेपालले जानकारी दिए । 

हेलिप्याड चौरमा एउटा र खत्री घाटमा अर्काे टावर निर्माण भएको हो । ती दुई वटा क्षेत्र बाघ र गैँडा अवलोकनका लागि महत्वपूर्ण ठाउँ मानिएको छ । बाघको बासस्थान राम्रो रहेकाले ती क्षेत्रमा टावर बनाइएको हो । केही महिनाअघि खत्री थरका एकलाई सोही स्थानमा बाघले आक्रमण गरेकाले उक्त स्थानको नाम खत्रीघाट राखिएको हो । 
अन्य क्षेत्रमा पनि थप दुई वटा मचान निर्माणको काम जारी छ । वन्जयन्तुको अवलोकनसँगै आक्रमणबाट जोगिनसमेत यस्ता टावर र मचान महत्वपूर्ण मानिन्छन् । टावार निर्माणका लागि काठ चितवन निकुञ्जबाट सहयोग स्वरुप उपलब्ध भएको थियो र अन्य कामका लागि  तीन लाख खर्च भएको थियो । 

टावरबाट वन र वनमा चर्न आएका गैँडा, चित्तल, मृग देख्न सकिन्छ । पाटे बाघ, भालु, तथा मयुर नाचेको दृष्यले टावरमा पुगेका पर्यटकलाई लोभ्याउँछ । मुख्यगरी पर्या–पर्यटन वृद्धिका लागि भ्यू–टावर बनाइएकाले पर्यटकको चहलपहल बढेको स्थानीय संरक्षणकर्मी तथा बूढी राप्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त तिमिल्सिनाले बताए । 

अहिले कुमरोजमा एउटा काठ र एउटा कंक्रिटको मचान निर्माणको कामसमेत शुरु भएको स्थानीय ईश्वरी पाठकले जानकारी दिए । यहाँ यसअघि तयार भइसकेको दुई वटा मचानमा १६ पर्यटक बस्नसक्ने क्षमता छ । 

मचानमा विदेशी पर्यटकलाई एक हजार र नेपाली रु ५०० शुल्क लाग्छ । यहाँ पर्यटकका लागि हात्ती, सफारी, जिप सफारी, डुंगा सफारीको सेवासमेत छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै