• २०८१ बैशाख १७ सोमबार

प्रदेश ३ को राजधानीका लागि समितिद्वारा नुवाकोटमा सम्भाव्यता अध्ययन

kharibot

नुवाकोट ।  प्रदेश नं ३ को राजधानी निर्धारणका लागि सम्भाव्यता अध्ययन गर्न गठित समितिले आज यहाँको साधन तथा स्रोतको अवस्था एवं विकास निर्माण र प्रशासनिक वस्तुस्थितिको जानकारी लिएको छ । 

प्रदेशको राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको सचिवालयमा दर्ता भएका स्थानहरूको अध्ययनका क्रममा समितिका संयोजक दीपक निरौलासहितको सदस्यको टोलीले नुवाकोटको स्थलगत अध्ययन तथा सरोकारवालासँग अन्तरक्रिया गरी भौतिक संरचना, भौगोलिक बनावटलगायतका तोकिएको मापदण्डको तथ्याङ्क संकलन गरेको हो । 

जिल्लामा रहेका सरकारी भौतिक संरचना र विकास निर्माणको अबस्थाको अध्ययन गरिएको समितिका सभापति निरौलाले जानकारी दिए । 

उहाँका अनुसार राजधानी चयनका लागि सचिवालयमा दर्ता भएका प्रस्तावहरूको आधारमा नुवाकोटबाट स्थलगत अध्ययन गरी समितिले कामलाई तीव्रता दिएको हो । “केही दिनअघि प्रश्नावलीमार्फत तथ्याङ्क संकलन गरी प्रस्ताव दर्ता भएका जिल्लाहरूको वस्तुस्थितिको जानकारी लिएका थियौँ ।” उनले भने  “स्थलगत अध्ययनको क्रममा देखिएका पक्षलाई समावेश गरी प्रदेशसभामा प्रतिवेदन पेश गर्नेछौँ ।” 

अध्ययनमा आएको टोलीलाई यहाँबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडा, प्रदेशसभा सदस्यहरू बद्री मैनाली, हीरानाथ खतिवडा, आशामायाँ तामाङ, जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङसहित राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज लगायतले प्रदेशको राजधानी नुवाकोट हुनुपर्ने आधार पेश गरेका थिए । 

जिसस नुवाकोटले समितिलाई उपलब्ध गराएको तथ्याङ्कमा राजधानीका लागि १२१ वटा प्रश्नावलीमा फोरेन्सिक प्रयोगशाला, अत्याधुनिक प्रयोगशाला, प्राकृतिक चिकित्सा अस्पताल, चिडियाखाना, बिज्ञान तथा प्रविधि प्रतिष्ठान र रङ्गशाला बाहेक ‘सबै संरचना उपलब्ध भएको’ उल्लेख छ । 

नुवाकोटको अध्ययन पूरा गरेको समितिले अब काभ्रे, भक्तपुर, चितवन र मकवानपुरको अध्ययन पश्चात आगामी असार १० गते प्रतिवेदन पेश गर्ने समितिका सदस्य रीता माझीले जानकारी दिनुभयो । समितिको म्याद असार ११ गते सकिदैँछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै