काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौं महानगरपालिकाको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा एक्स्टेन्सन काउन्टर खोलेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र अस्पतालका निर्देशक जागेश्वर गौतमले काउन्टरको संयुक्त रुपमा उद्घाटन गरेका छन् । योसँगै अब बैंकको एक्स्टेन्सन काउन्टर छ पुगेको छ ।
स्त्रीरोग तथा महिलासँग सम्बन्धीत रोगको उपचार सेवा दिइरहेको अस्पतालको परिसरमा खोलिएको काउन्टरले अस्पतालको आर्थिक कारोबार गर्न सहयोग गर्ने छ । काउन्टरले अस्पतालमा आउने विरामीको उपचारका क्रममा टिकट काट्न पनि सहयोग गर्ने छ ।
नेपाल इन्भेष्टमेण्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न कला तथा सस्कृति एवम् पुरातात्विक क्षेत्रमा सहयोग पुर्याउदै आएको छ ।
यसै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ३६५ दिन, २४ सै घण्टा सेवा संचालन हुने गरी परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा एक्स्टेन्सन काउन्टर खोलेको हो । यस सेवाले अस्पतालमा आउने विरामीले सुविधा पाउनेमा बैंक विश्वस्त छ ।
आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको हाल ७० वटा शाखा तथा १०० वटा एटिएम पुगेको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेविट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को ६३ वटा शाखारहित बैंकिङ्ग सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ ।