• २०८१ बैशाख १५ शनिबार

एथलेटिको म्याड्रिड युरोपा लिगको फाइनलमा, उपाधिका लागि मार्सेइलीसँग भिड्ने 

kharibot

काठमाडौं । एथलेटिको म्याड्रिड युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ ।

गएराती भएको आर्सनल विरुद्धको सेमिफाइनलको दोस्रो लिगमा १-० ले विजयी हुदै समग्रमा २-१ को नतिजासहित एथलेटिको युरोपा लिगको फाइनलमा पुगेको हो ।

एथलेटिकोको जितमा डिएगो कोष्टाले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल निर्णायक बनेको थियो । एन्टोनी ग्रिजम्यानको असिस्टमा कोष्टाले पहिलो हाफको अन्तिम मिनेटमा खेलको एक मात्र गोल गरेका थिए ।

स्पेनीस क्लब एथलेटिको यो सहित तेस्रो पटक युरोपा लिगको फाइनलमा पुगेको छ । पछिल्लो ५ सिजनमा एथलेटिको ३ महत्वपूर्ण फाइनलमा पुगेको छ ।  

त्यस्तै २२ बर्ष लामो आर्सनल बसाई पछि क्लब छोड्न लागेका आर्सनलका म्यानेजर आर्सन वेंगरको आर्सनलमा नमिठो अन्त्य भएको छ । आर्सनलबाट आफ्नो अन्तिम युरोपियन खेल म्यानेजरको रुपमा खेलेका वेंगरको यो २१६औ युरोपियन खेल थियो । जसमा वेंगरको यो ५८औ हार हो । उनले कुल ११० युरोपियन खेल आर्सनललाई जिताएका छन् भने ४८ खेल बिना कुनै नतिजा बराबरीमा सकिएका छन् ।

त्यस्तै युरोपा लिगको अर्को खेलमा फ्रेन्च क्लब मार्सेइली फाइनलमा पुगेको छ । मार्सेइलीले अस्ट्रियन क्लब सल्जबर्गसँग सेमिफाइनलको दोस्रो लिगमा २-१ ले पराजित भएपनि पहिलो लिगको २-० को अग्रताको आधारमा समग्रमा ३-२ को नतिजा सहित प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

अब युरोपा लिगको फाइनल खेल एथलेटिको म्याड्रिड र मार्सेइलीबीच यहि मे १७ मा फ्रान्समा हुने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय