काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान सुरु भएको छ ।
अन्तर्राष्ट्रिय उडानको लागि भने अझै केहीसमय लाग्ने विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार १२ बजेभित्र सबै उडान र अवतरण सञ्चालन गर्नेगरी तयारी भैरहेको छ ।
धावनमार्गबाट चिप्लिएर बाहिर पुगेको विमानलाई त्यहाँबाट हटाउने प्रयास भैरहेको छ ।
मालिन्दो एयरको विमान दुर्घटनाबाट जोगियो
काठमाडौँबाट मलेशियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो दुर्घटनाबाट जोगिएको हो ।
राति पौने १० बजे मलेशियातर्फ उड्न लाग्दा धावनमार्गबाट जहाज चिप्लिएर करीब १३९ फिट पर पुगेर घाँसे मैदानमा भासिएको थियो । जहाजमा १३९ यात्रु रहेको विमानस्थलले जनाएको छ ।
जहाजले धानवमार्ग छोडे पनि यात्रु तथा चालक दलका सबै सदस्य सकुशल रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिएका छन् ।
उक्त घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने जहाज अन्यत्रै पठाइएको थियो भने काठमाडौँबाट उड्नुपर्ने सातवटा उडान पनि प्रभावित भएको थियो ।
अहिले विमानस्थल बन्द छ । रनवेबाट उक्त विमान हटाएपछि मात्र उडान शुरु हुनेछ ।