काठमाडौँ । आइपिएलअन्तर्गत दिल्ली डेयरडेभिल्सले पहिलो जित हासिल गरेको छ ।
लगातार दुई खेलमा हार बेहोरेको दिल्लीले शनिबार भएको खेलमा मुम्बई इण्डियन्सलाई ७ विकेटले पराजित गरेको हो । मुम्बईले प्रतियोगितामा लगातार तेस्रो हार बेहोरेको छ ।
१९५ रनको लक्ष्य पछ्याएको दिल्लीले १९.४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
दिल्लीका लागि जसन रोयले सर्वाधिक ९१ रन नटआउट बनाएका थिए । उनले ५३ बलमा ६ छक्का र ६ चौकाको मद्धतले ९१ रनको पारी खेलेका थिए । त्यस्तै दिल्लीका लागि रिशव पन्तले ४७ रन बनाएका थिए । श्रेयस अयरले २७ र कप्तान गौतम गम्भीरले १५ रनको योगदान दिएका थिए ।
मुम्बईका बलर क्रुनाल पाण्डेयले २ र मुस्ताफिजुर रहमानले एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाउदै १९४ रन बनाएको थियो । मुम्बईका लागि सुर्यकुमार यादवले ५३ रन बनाएका थिए भने एभिन लुइसले ४८ रन बनाएका थिए । त्यस्तै इशान किसनले ४४ र कप्तान रोहित शर्माले १८ रन बनाएका थिए ।
दिल्लीका जसन रोय खेलको म्यान अफ द म्याच बनेका छन् ।