• २०८१ बैशाख १७ सोमबार

गृहमन्त्री पुगे बलात्कृत बालिकाको स्वास्थ्यवस्था बुझ्न अस्पताल

kharibot

फाइल तस्बिर

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले गत हप्ता पर्सामा बलात्कारमा परेकी एक बालिकाको स्वास्थ्यावस्थाबारे आज जानकारी लिएका छन् । 

मन्त्री थापाले बालिका उपचाररत राजधानीको ग्रिनसिटी अस्पतालमा पुगी स्वास्थ्यावस्थाबारे जानकारी लिँदै घटनामा संलग्न अपराधीलाई कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे । गृहमन्त्रीले बालिकाको उपचारमा कुनै कमी नगर्न आग्रह गर्दै उनको उपचारमा सरकारबाट सहयोग हुने आश्वासन दिए । 

गृहमन्त्रीले बलात्कारका घटना दोहोरिन नदिन मन्त्रालयले सुरक्षा निकायलाई विशेष पहल गर्न निर्देशन दिइसकेको जानकारी दिए । बलात्कारजस्तो जघन्य अपराधका घटनामा संलग्नलाई गरिने कारवाहीको दायरा अझ बढाउन आवश्यक रहेको बताउँदै अपराधीलाई चोख्याउन खोज्नेलाई पनि कारवाहीको दायरामा ल्याइने चेतावनी दिए । 

गत हप्ता बलात्कृत ती बालिकालाई गत आइतबार ल्याएर सो अस्पतालमा उपचारमा राखिएको छ । बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरिसकेको छ । घटनामा अन्यको संलग्नताबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ । 

अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले आफूहरुले मानवीयताका आधारमा पीडित बालिकाको निःशुल्क उपचार गरिरहेको जानकारी दिए । बलात्कारका कारण बालिकाको स्वास्थ्य अवस्था नाजुक रहेकामा उपचारपछि क्रमिक सुधार हुँदै आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै