काठमाडौँ । लियोनेल मेसीले चेल्सीविरुद्ध आफ्नो क्यारियर कै पहिलो गोल गरेका छन् ।
गएराती भएको च्याम्पियन्स लिग अन्तर्गतको अन्तिम १६ को पहिलो लिगमा मेसीले खेलको ७५औ मिनेटमा गोलगर्दै इङलिश च्याम्पियन चेल्सीविरुद्ध क्यारियर कै पहिलो गोल गरेका हुन् ।
मेसीलाई गोल गर्ने अवसर भने बार्सिलोनाका प्लेमेकर आन्द्रे इनेष्टाले जुराईदिएका थिए । चेल्सीका खेलाडीको गलत पासको फाइदा उठाउदै इनेष्टाले डी बक्स भित्र रहेका मेसीलाई पास मिलाइदिएका थिए, जुन अवसरलाई मेसीले खेरा फालेनन् र ऐतिहासिक गोल गर्न सफल भए ।
चेल्सीविरुद्ध गोल गर्न मेसीले ९ खेल खेल्नु पर्यो भने ३०औ सट हान्दा पहिलो गोल गरेका थिए ।
बार्सिलोना र चेल्सीबीच १-१ गोलको बराबरीमा सकिएको पहिलो लिग पछि अब बार्सिलोनाको घरेलु मैदानमा आगामी मार्च १४ मा निर्णायक खेल हुने छ ।
मेसीले गोल नगरेका प्रमुख टिम :
मेसीले आफ्नो क्यारियर खेलेका ९ टिमविरुद्ध अझै गोल गर्न सकेका छैनन् ।
मेसीले च्याम्पियन्स लिगमा इन्टर मिलान, लिभरपुल, बेनिफिका, रुबिन कजान र उडीनेसविरुद्ध खेलेपनि गोल गर्न सकेकाका छैनन् ।
त्यस्तै ला लिगामा मेसीले जेरेज र रियल मुरीकाविरुद्ध २-२ खेल खेलेपनि गोल गर्न सकेका छैन भने काडीजविरुद्ध एक खेल खेलेर कुनै गोल गरेका छैनन् । त्यस्तै क्लब विश्वकपमा अल साड कतारविरुद्ध बर्सिलोनाले ४-० को जित निकाले पनि मेसीले गोल गरेका थिएनन् । त्यस्तै कोपा डेल रे मा ग्रामेनेटविरुद्ध मेसी एक खेल खेलेका छन् जुन खेलमा पनि मेसीले गोल गरेका छैनन् ।