• २०८१ बैशाख १८ मंगलबार

ठमेलमा हस्तकलासम्बन्धी मेला सुरु 

kharibot

काठमाडौं । वाणिज्य मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा नेपाल हस्तकला महासंघले उपत्यकामा आयोजना गरेको महिला उद्यमी तथा हस्तकला एवं प्राकृतिक रेसाजन्य वस्तु मेला आजबाट सुरु भएको छ । ठमेलस्थित त्रिदेवी मन्दिरपरिसरमा त्रिदेवी मार्गमा शुक्रबार काठमाडौ महानगरपालिका उपप्रमुख हरीप्रभा खड्काले मेलाको उद्घाटन गरेकी हुन् । 

खड्काले पानसमा दीप प्रज्वलन गरी तीन दिने उक्त मेलाको शुभारम्भ गरेकी हुन् । विगत ४६ वर्षदेखि हस्तकलाको सामग्री निकास तथा प्रवद्र्धन गर्दै आएको हस्तकला महासंघले महिला उद्यमीहरुले उत्पादन गरेको प्राकृतिक रेसाजन्य वस्तुको बाह्य तथा आन्तरिक बजार प्रवद्र्धन गर्न मेला आयोजना गरेको हो । 

यही फागुन ६ गतेसम्म सञ्चालन हुने मेलामा २० स्टल रहेको छ भने करिब ३० हजारले मेला अवलोकन गर्ने अपेक्षा गरिएको नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले बताए । उनका अनुसार मेलामा दुई करोड रुपैयाँसम्मको कारोबार हुने अनुमान गरिएको छ । हस्तकला महिला शसक्तिकरणको लागि महत्वपुर्ण हुने भन्दै घरको कामबाट बचेको समयको सदुपयोग गर्दा  आर्थिक रुपमा सक्षम बन्न सहयोग पुर्याउने र  महिलामाथि हुने थिचोमिचो बाट माथि उठ्न सकिने बताए । 

सो मेलामा केराको रेसाबाट बनाइएका वस्तुहरु, अलैँचीको रेसाबाट बनाइएको वस्तुहरु, गरगहना, फेल्टका वस्तु र हाते कागज तथा पोतेजन्य र कपडाजन्य सामग्री प्रदर्शन गरिएका छन् । 
मतिष्काघातबाट पीडित भएका बच्चाहरुको आमाले कोन क्राफ्ट प्रशिक्षणबाट तयार गरेका सामग्रीलाई महासंघले निःशुल्क स्टल उपलब्ध गराएको छ । 

उक्त कार्यक्रममा हस्तकला महासंघकी उपाध्यक्ष रत्नेश्वरी श्रेष्ठ, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका निमित्त कार्यकारी निर्देशक तेजसिंह विष्टलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै