काठमाडौँ । राष्ट्रियसभामा रिक्त रहेका १९ सिटका लागि आज निर्वाचन हुदै छ । गत पुस २० गते गरिएको मनोनयनपछि निर्वाचन आयोगले पुस २५ गते मनोनयन दर्ता भएका उम्मेदवारको अन्तिम नामावली सार्बजनिक गरेको थियो । राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि नौ राजनीतिक दलका ४३ जनाको उम्मेदवारी परेको थियो ।
आगामी फागुन २० गते नेकपा (एमाले) का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ । सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।
प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्सीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको प्रत्येक दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ । निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।
गठबन्धन एकसाथ चुनावमा
राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनले संयुक्त उमेदवार बनाएका छन् भने एमाले एक्लै प्रतिष्पर्धामा रहेको छ । राष्ट्रिय सभामा गठबन्धन दलका पहिले जुन जुन पार्टीको खालि भएको छ त्यो उनीहरुलाई नै दिने बाँकी रहेको ८ सिटमा कांग्रेसले ३, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई एक एक, जसपालाई दुई र राष्ट्रिय जनमोर्चालाई एक सिट दिएका छन् ।
जस अनुसार १९ स्थान मध्ये काँग्रेसले कुल ६ स्थान पाएको छ भने, माओवादी केन्द्र र एकीकृत समाजवादीले ५-५ सिट पाएका छन् ।
राष्ट्रिय सभाका २० सांसद चारवर्षे कार्यकाल पूरा गरी आगामी २० फागुनबाट बाहिरिँदै छन् । जसमा एमालेका आठ, माओवादी र एकीकृत समाजवादीका चार- चार, कांग्रेसका तीन र मनोनीत एक सांसद छन् ।
कुन प्रदेशबाट गठबन्धनका कुन दलको उम्मेद्वारी ?
प्रदेश–१ मा कांग्रेसले एक, नेकपा एकीकृत समाजवादीले एक र जनता समाजवादीले एक सिट लिएका छन् भने प्रदेश–२ मा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले एक–एक सिटमा उम्मेदवारी दिएका छन् ।
त्यस्तै बागमती प्रदेशमा काँग्रेस, एकीकृत समाजवादीले एक–एक सिटमा उम्मेदवारी दिएका छन् भने गण्डकी प्रदेशमा कांग्रेस, एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले एक–एक सिटमा उम्मेदवारी दिएका छन् ।
त्यसैगरी लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एक–एक सिटमा उम्मेदवारी दिएका छन् भने भने कार्णाली प्रदेशमा कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले एक–एक सिटमा उम्मेदवारी दिएका छन् ।
त्यस्तै सुदूरपश्चिम प्रदेशमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले एक–एक सिटमा उम्मेदवारी दिएका छन् ।









