• २०८१ बैशाख १७ सोमबार

विराट कोहलीले विज्ञापनबाट कति कमाउछन् ?

kharibot

काठमाडौँ । भारतीय क्रिकेटर विराट कोहलीले क्रिकेट टिमको कप्तानीबाट राजीनामा दिएपछि उनको ख्यातिमा कस्तो असर पर्ला भनी सर्वत्र चासो राखिएको थियो । टिम इन्डियाका यी सर्वाधिक सफल कप्तानको ख्यातिमा राजीनामापछि पनि कुनै असर नपरेको विश्लेषकहरू बताउँछन् । 

क्रिकेट खेलबाट नाम कमाएका यी ब्याट्सम्यानलाई विज्ञापनको दुनियाँले अहिले पनि उसैगरी पछ्याइरहेको छ । ठूल्ठूला र राष्ट्रिय-अन्तर्राष्ट्रिय कम्पनीहरूको पहिलो रोजाइको मोडल (ब्रान्ड) यिनै कोहली छन् ।

कोहली टिम इन्डियाको कप्तान नरहँदा पनि ब्रान्डमा कुनै असर परेको छैन । अहिले पनि उनी जोडिएको ब्रान्ड संख्यामा असर त परेको छैन नै, साथै उनले लिने पारिश्रमिकमा पनि कुनै प्रभाव परेको छैन ।   

कोहलीको हातमा अहिले पनि ३० भन्दा बढी ब्रान्ड छन् । उनले २०२१ सम्म उनले विज्ञापन खेलेर वार्षिक १७८.७७ करोड भारु आम्दानी गरेका थिए । २०२२ मा पनि सो क्रम जारी रहने देखिएको छ ।

पुमा इन्डिया तथा दक्षिण पूर्वएसियाका प्रबन्ध निर्देशक अभिषेक गाँगुली भन्छन्, ‘विराटसँथ लामो अवधिको सम्झौता छ र यो हाम्रो कम्पनीको सौभाग्य हो । निश्चित रूपमा विराटले क्रिकेटको कप्तानीबाट राजीनामा दिए र उनी एक शानदार एथलेट हुन् । उनको प्रदर्शन असाधारण छ ।’

कोहलीसँग जर्मनीको एक कम्पनीले २०१७ मा आठ वर्षका लागि ११० करोड रुपैयाँमा सम्झौता गरेको थियो, जुन अद्यापि जारी छ । कोहली पुमा स्पोर्ट्सवियर, हिरो टु ह्विलर्स, एमआरएफ टायर, अडी कार, फेसन प्लेटफर्म मिन्त्रा, अमेरिकन टुरिस्टर लगेज, भिभो स्मार्टफोन, हाइपरिस वेलनेस, क्लोदिङ तथा एक्सेसरिज ब्रान्ड रोनलगायत थुप्रै ब्रान्डसँग आवद्ध छन् ।

विश्लेषकहरूका अनुसार, जसरी एमएस धोनीले कप्तानी छाडेपछि पनि उनको ब्रान्ड भ्याल्युमा कुनै कमी आएन, त्यसरी नै कोहलीको ब्रान्ड भ्याल्यु वृद्धि भइरहेको छ । कोहली सोसल मिडियामा उत्तिकै सक्रिय छन्, उनका फलोअर्स बढ्ने क्रम जारी छ । 

कोहली २०२१ मा हापर इन्स्टाग्राम रिचमा सर्वोच्च र्‍यांकिङ लिस्टमा पर्ने भारतीय नागरिक बनेका थिए । हापरका अनुसार, विराट कोहलीले इन्स्टाग्राममा प्रत्येक प्रोमोसनल पोस्टका लागि करिब पाँच करोड भारु पाउँछन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै