• २०८३ मङ्सिर ३ बिहीबार

बार्सिलोनाको टाउको दुखाई बने डेम्बेले !

बार्सिलोनाको टाउको दुखाई बने डेम्बेले !

काठमाडौँ । फ्रेन्च विंगर उसमान डेम्बेलेको बार्सिलोनासँग विवाद भएपछि उनले क्लब छोड्ने देखिएको छ । बार्सिलोना व्यवस्थापनले डेम्बेलेलाई क्लब छोड्ने निर्देशन दिएपछि उनको बार्सिलोनाबाट बहिर्गमन हुने भएको हो ।

बार्सिलोनाले डेम्बेलेका एजेन्टसँग उनको सम्झौता नवीकरणको प्रयास असफल भएको बताएको छ । बार्सिलोनाले डेम्बेलेका एजेन्टले आफ्ना माग बढाएको बताउदै अब उनलाई या त आफ्नो सम्झौता नवीकरण गर्न वा तुरुन्तै क्लब छोड्न भनिएको छ । साथै बार्सिलोनाले डेम्बेले क्लबप्रति प्रतिबद्द नभएको आरोप लगाएको छ ।

बार्सिलोनाले २०१७ मा डेम्बेलेलाई जर्मनी क्लब डोर्टमण्डबाट १६७ मिलियन डलरमा किनेको थियो ।

तर बार्सिलोनामा डेम्बेलेको आगमन सुखद भने रहेको छैन । उनको लगातारको इन्जुरी बार्सिलोनाको टाउको दुखाई नै भएको छ । उनले अहिलेसम्म बार्सिलोनामा १२९ खेल मात्र खेलेका छन् भने ३१ गोल गरेका छन् । यस सिजनमा उनी बार्सिलोनाका लागी केबल ११ खेल खेलेका छन् भने एक गोल गरेका छन् ।

२०१७-१८ मा उनले बार्सिलोनामा २३ खेलमा ४ गोल गरे, २०१८-१९ मा ४२ खेलमा १४ गोल गरेका थिए । त्यस्तै २०१९-२० मा उनले केबल ९ खेलमा एक गोल गरे भने २०२०-२१ मा ४४ खेलमा ११ गोल गरे । 
इन्जुरिका कारण उनी बार्सिलोनामा पुरै सिजन कुनै पनि बर्ष उपलब्ध भएका छैनन् ।

डेम्बेलेको बार्सिलोना सम्झौता यस सिजनको अन्त्यसँगै समाप्त हुदै छ । त्यसैले पनि बार्सिलोनाले उनीमाथि सम्झौता नविकरण गर्न वा अहिले नै जनवरी विन्डोमा क्लब छोड्न दबाब बढाएको बुझिन्छ । आफै आर्थिक संकटमा रहेको बार्सिलोना डेम्बेलेलाई बेचेर अब नयाँ खेलाडीमा लगानी गर्ने योजनामा अगाडी बढेको दखिन्छ ।

उनलाई विहिबार राति सम्पन्न कोपा डेल रेको अन्तिम १६ राउण्डको खेलमा बार्सिलोनाको टिममा समावेश गरिएको थिएन ।

तर डेम्बेलेले भने क्लबको व्यवहारप्रति असहमति जनाएका छन् । आफु क्लबको लागि सधै उपलब्ध भएको बताउदै उनले क्लबप्रति प्रतिबद्ध नभएको भन्ने बार्सिलोनाको आरोपको खण्डन गरेका छन् । उनले बार्सिलोनाले आफुलाई सम्झौता नविकरण गर्न ब्ल्याकमेल गरेको आरोप लगाएका छन् । 

दुवै खुट्टा चलाएर खेल्न सक्ने विश्वका कम फुटबलर मध्ये एक  डेम्बेलेलाई प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड फ्री-ट्रान्सफरमा भित्र्याउने योजनामा रहेको रिपोर्ट बाहिर आएको छ । यस बाहेक प्रिमियर लिग क्लबहरु न्यूक्यासल युनाइटेड र लिभरपुलले पनि उनी माथि चासो देखाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै