काठमाडौँ । स्पेनिस ला लिगाअन्तर्गत गए राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५–२ गोलले पराजित गरेको छ । बेटिसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गर्दै लिगमा लगातार नवौँ जित निकालेको हो ।
बार्सिलोनाका लागि लामिन यामलले १०औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । रियल बेटिसका भालेन्टिन गोमेजले २७औँ मिनेटमा बराबरी गोल गरे पनि रोड्रीले ४१औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।
दोस्रो हाफमा गाब्रिएल जेससले ५१औँ मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता बढाए । त्यसको दुई मिनेटपछि एज अब्देले गोल गर्दै बेटिसलाई खेलमा फर्काउने प्रयास गरे ।
खेलको ६२औँ मिनेटमा एरिक गार्सियाले गोल गरेपछि बार्सिलोनाले ४–२ को अग्रता बनायो । डानी ओल्मोले ८१औँ मिनेटमा अर्को गोल थपेपछि बार्सिलोनाले ५–२ को प्रभावशाली जित सुनिश्चित गर्यो ।
दोस्रो हाफको ५४औँ मिनेटमा बार्सिलोनाका यामलमाथि टाउकोले प्रहार गरेको घटनामा रियल बेटिसका फाकुन्डो बर्नालले रातो कार्ड पाएपछि घरेलु टोली १० खेलाडीमा सीमित भएको थियो ।
यस जितसँगै बार्सिलोनाले लिगका अपराजित रहदै ९ खेलमा २७ अङ्क जोडेको छ । रियल बेटिस भने १९ अङ्कसहित तालिकाको तेस्रो स्थानमा रहेको छ ।









