• २०८१ बैशाख २० बिहीबार

कागती खेतीबाट मनग्य आम्दानी

kharibot

फाइल तस्वीर

दाङ । तीन वर्षअघि  निलकाँटा र सैजनको झाडी रहेको दाङको गढवा गाउँपालिका ३ गोबरडिहाको विद्यानगर अहिले हरियाली भएको छ ।

त्यहाँस्थित  हरिया बोटमा लटरम्म  फलेको  कागतीले मानिस झुक्किन्छन् र त्यही ठाउँ हो कि होइन भनेर यताउता हेर्न थाल्छन् । उनीहरुको ध्यान हरियाली र यतिमात्र नभएर लटरम्म फलेका कागतीले तान्न थाल्छ ।
 
बाटो हिँड्ने मात्र होइन कि यतिखेर त्यहाँका स्थानीयवासी गाउँले पनि कागतीखेती हेर्न पुग्ने गरेका छन् । गढवा ३ गोबरडिहाका ३४ वर्षीय युवा अञ्जित चौधरी पौरखी किसान हुन् । उनले व्यवासायिक रुपमा गरेको उन्नत जातको कागतीखेतीले उनको जीवन राम्ररी चलेको मात्र होइन यस स्थानकै शोभा बढाइदिएको छ । 

    
उनले ‘डिएण्डके’ सिट्स कृषि फार्म खोलेर व्यावसायिक रुपमा उन्नत जातको कागतीखेती गर्न थालेका छन् । विसं २०७४ मा उनले यहाँको १० बिघा जमिन २५ वर्षका लागि भाडामा लिएर सुरुमा २० लाख रुपैयाँ लगानी गरेर व्यावसायिक रुपमा उन्नत जातको कागती खेती थालेको जानकारी दिएका छन् । 

उनले १० बिघा जमिनमध्ये साढे ६ बिघामा कागती खेती गरेका छन् , भने अन्य जमिनमा रेशमखेती छ । धनकुटामा रहेको वनस्पति उद्यानबाट सुन कागती १ र सुन कागती २ जातको उन्नत जातका तीन हजार कागतीका बिरुवा खरिद गरी खेती थालेको उनको भनाइ छ । 

सो जग्गाको वार्षिक रुपमा रु दुई लाख भाडा तिर्छन । उनले अहिले दुई जनालाई पूर्ण रुपमा र सात जनालाई आंशिक रुपमा रोजगारी दिएका छन् । उनले भने , “तीन वर्ष भयो बिरुवा रोपेको एक वर्षमा नै फल्न थाले पनि सुरुको वर्षका अधिकांश दाना झरेर गए । फल धेरै लाग्ने तर बोट साना भएकाले असर गर्ने हुँदा आम्दानी भएन । गतवर्ष राम्रो आम्दानी भयो ,यसपटक हालसम्म अर्थात पुस १५गतेसम्म ३५ क्वीन्टल बिक्री गरिसकेको अझै कागती बाँकी छन् ।’

अहिले दैनिक बुटाबाट नै ५० देखि ६० किलोसम्म कागती बिक्री गरीरहेको छु । अहिले उनले प्रतिकेजी कागती रु १०० मा विक्री गरिरहेका छन् ।“बाबु बाजेले  धान, मकै, गहुँखेती गरे र कृषि क्षेत्रमा नै रमाएर बसेका छन् । मैले पनि अहिले क्याम्पसमा पढदै र परम्परागत खेतीले आम्दानी धेरै नहुँने हुँदा यो पेशालाई रोजेको छु, सफल पनि भएको छु ,”उनले भने ।

उनले  कागती खेतीलाई  आवश्यक पर्ने सिँचाइ र रोग लागेमा  दक्षप्राविधक र कीटनाशक औषधिको प्रयोगबारे जानकारी तथा सहयोग गरीदिन सरकारलाई आग्रह गरेका छन । यो खेतीतर्फ उत्साहित गराउन गत वर्ष गढवा गाउँपालिकाले रु  तीन लाख र कृषि ज्ञान केन्द्र घोराहीले रु दुई लाख अनुदान उपलव्ध गराएको जनाइएको छ ।

गतवर्ष कोरोना महामारीका बेला उत्पादन गरेको कागतीलाई बजारको कुनै समस्या नभएको ग्राहक बोटमै  आउने प्रति किलो रु १५० सम्म हालेर लिने गरेकोसमेत बताएका छन् । 

उनले कागती फार्म यस क्षेत्रकै सबैभन्दा ठूलो रहेको र के कसरी खेती गर्ने भन्ने जानकारी लिन र अवलोकन गर्न अहिले  सञ्चारकर्मी, सर्वसाधारण, किसान र सरकारी उच्च ओदाका कृषि क्षेत्रका मानिस आउने  गरेको समेत उनले बताएका छन । 

उनको कागती बगैँचामा भेटिएका तुलसीपुर उपमहानगरपालिका १० स्थायी घरभई हाल गोबरडिहामा डेरागरी बस्ने तेजप्रसाद शर्माले आफू चौधरीले गरेको कागतीखेती देखेर निकै उत्साहित भएको बताएका छन् । शिक्षण पेशा गदैआएका  २७ वर्षीयउनले बताए , “म यहीँ नजिकैको गाउँमा बस्छु प्रायः बेलुकी घुम्न कागती बगैँचामा  नै आउने गरेको छु ।”

किसान चौधरीले नेपालमा ८० प्रतिशत कागती भारतलगायतका देशबाट आउने र २० प्रतिशतलाई  मात्र यहाँ उत्पादन हुने भन्ने केही वर्ष पहिले एउटा समाचार पढेकोले आफूलाई यसखेतीमा लाग्न सोही समाचारले आकर्षित गरेको बताउछन । 

पूर्वी नेपालमा भ्रमण गएको बेलामा त्यहाँ गरेको कागतीखेती अवलोकन गर्ने मौका पाएको र कागतीमा राम्रो सम्भावना देखेर यो खेतीमा लागेको उनको भनाइ छ । चौधरीले कृषि प्रधान हाम्रो देशमा यहाँ कृषिका अत्यन्तै राम्रो सम्भावना र यही माटोमा मेहनत गरे मनग्गे आम्दानी गर्न सक्ने बताउछन ।  

उनले यस पटक भएको आम्दानीबाट थोपा सिँचाइ र कागती प्रशोधन केन्द्र खोल्ने आफ्नो योजना रहेको उनले सुनाएका छन् । त्यस्तै कागती भण्डारण गर्नको लागि कोल्डस्टोर नहुँदा समस्या हुने गरेको समेत बताए ।

उनले बर्सेनि युवाशक्ति रोजगारका लागि भारत तथा खाडीमूलक जाने गरेकोमा यसलाई राज्यले रोकेर आफ्नै देशमा यस्तै आयआजर्नमूलक काममा लगाउनुपर्ने सुझावदिएका छन् । यसको लागि अनुदानमा ऋण, कीटनाशक औषधि, बीउबीउ, मल, सिँचाइको व्यवस्था गरिनुपर्ने उनको सुझाव छ ।

त्यस्तै सीपमूलक कृषि कार्यक्रम दिनुपर्ने  उनि भनछन  । ती विदेशिने युवालाई लक्षित गरी एकीकृत कृषि व्यवसाय फाराम सञ्चालन ल्याउन सके ती युवाले स्वदेशमा नै राजगारी पाउनसक्ने उनको धारणा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै