काठमाडौँ । म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।
गएराती सम्पन्न खेलमा स्पेनिस क्लब भिल्लारियललाई २-० गोल अन्तरले पराजित गर्दै युनाइटेडले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो ।
युनाइटेडको जितमा क्रिस्टियानो रोनाल्डो र जोर्डन सान्चोले एक एक गोल गरेका थिए ।
पहिलो हाफ बिना कुनै गोल बराबरीमा सकिएको खेलमा खेलको ७८औं मिनेट मा रोनाल्डोले युनाइटेडका लागि पहिलो गोल गरेका थिए ।
त्यसपछि खेलको ९०औं मिनेटमा सान्चोले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारेका थिए ।
समुह एफ मा रहेको युनाइटेड यो जितपछि ५ खेलमा १० अंक हासिल गर्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ ।
त्यस्तै भिल्लारियलको भने ५ खेलमा ७ अंक छ र समुहमा दोस्रो स्थानमा रहेको छ ।
यसै समुहको गएराती सम्पन्न खेलमा एटलान्टा र योंग ब्वायेज ३-३ गोलको बराबरी खेलेर अंक बाडेका छन् ।
यो बराबरीपछि एटलान्टाको ५ खेलमा ६ अंक भएको छ र समुहमा तेस्रो स्थानमा छ भने योंग ब्वायेजको ५ खेलमा ४ अंक रहेको छ ।









