• २०८१ बैशाख १७ सोमबार

हुम्लाको छिप्रा गाउँमा मकै उत्पादनमा कमी

kharibot

प्रतिनिधी तस्वीर

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिकामा यस वर्ष मकै उत्पादनमा कमी भएको छ । योसँगै खार्पुनाथ –४ छिप्रा गाउँका महिलाको मुख्य आम्दानीमा कमी आएको छ  । 

समयमै पानी नपर्नाका साथै खेतमा लगाएको मकैमा किरा लागेका कारण उत्पादनमा कमी भएको यहाँका महिलाले गुनासो गरेका छन् । गत वर्षका तुलनामा यो पटक उत्पादनमा कमी आएको हो । गत जेठ महिना खेतमा छर्किएको मकै कात्तिक महिना घर भित्र्याउँदाको समय उत्पादनमा ह्रास आएको स्थानीयवासी हिरउली रावतले गुनासो गरे ।

। मकैलाई पुग्ने गरी पानी नआउनाका साथै खेतमा विभिन्न खाले किराले खाएका कारण उत्पादन कम भएको उनले बताए । आफ्नो मात्रै नभएर गाउँभरिका किसानले खेतमा लगाएको मकै यस वर्ष उत्पादनमा कमी आएको हो । गत वर्षका तुलनामा यो वर्ष उत्पादनमा कमी आएको अर्का स्थानीयवासी जसपुरी रावलले गुनासो गरे । पानीको अभावका कारणले गर्दा मकैका बोटमा विभिन्न किसिमका डडुवा, ध्वाँसेजस्ता रोगहरू लागेको छ । 

उत्पादनमा कमी आएसँगै यहाँका किसान चिन्तित बनेका छन् । यस पटक उत्पादनमा कमी आउँदा अर्को वर्षका लागि बीउ जोगाउन समेत मुस्किल भएको जसपुरी रावतले बताइन् । उत्पादनमा कमी हुँदा आम्दानीको स्रोत घटेको उनले जानकारी दिइन् । उनले भने “विगतमा हामीले एक केजी मकैको रु एक सयमा बिक्री गर्थ्यौं तर यो वर्ष उत्पादन नभएर आम्दानी समेत शून्य भएको छ । विगतका वर्षहरुमा उत्पादन राम्रो हुँदा घोडा, खच्चड व्यवसायीहरुलाई बिक्री गरिएको थियो । यस वर्ष बीउ जोगाउन समेत मुस्किल भएको छ” उनले भनिन् । 

मकै उत्पादन राम्रो हुँदा उनीहरुले बिक्री गरेर खर्च चलाउने गरेका थिए । महिलाका लागि मकै उत्पादन आम्दानीको एक मुख्य स्रोत रहेको भए पनि यो वर्ष आम्दानी शून्य भएको उनको भनाइ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै