काठमाडौँ । कोरोनाका कारण रिलिज हुन नपाएको अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’ आउँदो माघ १९ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
फिल्मको प्रदर्शन मिति घोषणा गर्दै निर्देशक सुदर्शन थापाले फेसबुकमा लेखेका छन्, ‘कुनै एक फिल्ममा मात्र नभइ पुरै नेपाली फिल्म क्षेत्र नै चलायमान हुनु अहिलेको आवश्यकता हो । सोही उद्देश्यका साथ नेपाली फिल्म ‘म यस्तो गीत गाउँछु २’ यहि वर्षको माघ १९ प्रदर्शन गरिने निर्णय गरेको छौं ।’ यसअघि २०७६ को फागुन ३० गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको थियो ।
फिल्ममा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको अभिनय छ । शिवम अधिकारी र दिनेश न्यौपानेले फिल्मको कथा लेखेका हुन् । पूजा र सुदर्शनले मिलेर निर्माण गरेको फिल्मको सह-निर्माता जन्मजय साम्पाङ राई हुन् । फिल्ममा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन र सौरभ लामाको छायांकन रहेको छ ।
माघ १९ गते प्रदर्शनमा आउँदा यो फिल्मले प्रदर्शनको पहिलो हप्ता नै तीनवटा सार्वजनिक विदा भेट्नेछ ।