• २०८१ बैशाख १८ मंगलबार

प्रदेश २ मा छठ पर्वको रौनकता

kharibot

तस्वीर : श्याम गुप्ता

वीरगञ्ज । तराई–मधेसमा धुमधामका साथ मनाइने छठ पर्वले अहिले प्रदेश नं २ मा रौनकता ल्याएको छ । प्रदेश नं २ अन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा र पर्सा जिल्लामा छठपर्वको रौनक धुमधामका साथ देखिएको हो । 

आफूलाई पायक पार्ने स्थानका स्थानीय पोखरी तालतलाउ तथा मठमन्दिर नजिक छठघाट निर्माण गरेर आआफ्नो परम्परागत शैलीमा छठ पर्व मनाउने प्रचलन रहिआएको छ । प्रदेश नं २ मा रहेको पर्साको एकमात्र वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र ९१ वटा छठीघाट निर्माण गरिएका नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए ।

प्रदेश नं २ का विभिन्न स्थानमध्ये महत्वपूर्ण स्थानमध्येको पर्साको वीरगञ्जस्थित घडीअर्वा पोखरी परिसर चिटिक्करूपमा सजीसजावट गरिएको उक्त स्थलमा श्रद्धालुको भिडभाड देखिन्छ । यस स्थलमा करिब पाँच हजार बर्तालुले पूजा आराधना गर्ने र एक लाख ७० हजारभन्दा बढी दर्शनार्थीको भीड हुने प्रारम्भिक अनुमान गरिएको घडिअर्वा पोखरीको छठघाट व्यवस्थासमितिले जनाएको  छ  ।

घडिअर्वा पोखरी परिसरमा भएका सजिसजाउ तथा पूजा हेर्न बारा, पर्सा, रौतहट, मकवानपुर चितवन, काठमाडाँै र सीमावर्ती भारतीय शहरबाट समेत दर्शनार्थी आउने गरेका छन् । पवित्र मनले छठपर्व मनाउँदा पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

परम्पराअनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अघ्र्य दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अघ्र्य दिई पूजा विसर्जन गरिन्छ । यस पर्वमा विभिन्न समुदायका व्यक्ति पनि सहभागी हुन्छन् र पर्व विधिवत्रूपमा मनाउँछन् । 

यो पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । नेपालको विशेषरूपले तराई–मधेश क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ । यस पर्वका अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सक्खरको खिर पकाई प्रसादका रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने चलन छ ।

विशेषगरी नेपालका विभिन्न स्थानसँगै नेपालको पूर्वी तराईका जिल्लामा विशेष उल्लासका साथ यो पर्व मनाइने गरिन्छ । यस पर्व चार दिनसम्म मनाइने गरिन्छ । मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरवा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएर यो पर्वको समापन हुने गर्दछ ।

जीवनदायी शक्ति सूर्य देवता र छठी माताको उपासना गरी मनाइने यस पर्वको व्रतलाई कठिन व्रत मानिन्छ । सूर्यलाई आरोग्यका देवताका साथै निर्धनताका निवारक पनि मानिन्छ । पहिला मिथिलाञ्चलमा मात्र सीमित रहेको छठपर्व पछिल्लो समय राजधानीसहित पहाडी क्षेत्र र तराईका विभिन्न जिल्लामा पनि लोकप्रिय हुँदै गएको छ ।

देवी भागवत्मा षष्ठी देवीले पुत्रहीनलाई पुत्रप्रदान, पत्नीहीनलाई पत्नीप्रदान, धनहीनलाई धन र कर्मवानलाई उत्तमफल प्रदान गर्ने उल्लेख गछ । यसै कारण यो पर्व साझा समानताको पर्वका रूपमा लोककरण भएको पाइन्छ । 

छठको पहिलो दिन (कात्तिक शुक्ल चतुर्दशी)

कात्तिक शुक्ल चतुर्दशीका दिनदेखि छठ पर्व आरम्भ हुन्छ । तिहारलगत्तै सुरु हुने छठ नितान्त सूर्यको उपासना गरी मनाइन्छ । छठको सुरुआत मानिने यसमा बर्तालु बिहान सबेरै उठेर हातखुट्टाको नङ काट्छन् र चोखो पानीले नुहाइधुवाइ गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्दछन् । भनिन्छ यस दिनमा बर्तालुले प्रण गर्दछन्, ‘म अब जथाभावी खादिनँ र तनमनले प्रभुको शरणमा बस्नेछु’ ।

छठको दोस्रो दिन (कात्तिक शुक्लपञ्चमी)–खर्ना

विधिवतरूपमा सुरु भएको छठको दोस्रो दिनलाई ‘खर्ना’ भनिन्छ । यस दिनमा नुहाएर चोखो भई साँझपख बर्तालुले सक्खरको खिर लौकाको तरकारीजस्ता शुद्ध भोजन ग्रहण गर्दछन् । यस दिनमा एक छाक मात्र भोजन गर्नुको कारण भने छठको दिनअर्थात् अघिल्लो दिनमा दिनभरि पानीसमेत नपिई निराहार व्रतको पूर्वाभ्यास हो ।

छठको तेस्रो दिन (कार्तिक शुक्ल षष्ठी)

छठको तेस्रो दिनअर्थात् छठपर्व । यस दिनमा बर्तालु पानीसमेत नपिई निराहार बस्छन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवाजस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् । प्रातःकालीन अघ्र्यका लागि केही बर्तालु रातभर पानीमा बसेर सूर्य नउदाउञ्जेलसम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् ।

छठको चौथो दिन (कार्तिक शुक्ल सप्तमी)

रातभर सूर्यको आराधनामा मग्न भएका भक्तले भोलिपल्ट उदाउँदो सूर्यको पूजाआजा गर्दछन् । बिहानी सूर्यको न्यानो किरणसँगै बर्तालुले अञ्जुलीमा पानी भरी जल चढाउँछन् र पालैपालो ठकुवा, भुसुवा, फलफूल र मिठाइ जस्ता प्रसाद अर्पण गर्दछन् । त्यसपछि घरमा गई सूर्यको प्रसाद ग्रहण गरी व्रत खोल्दछन् ।

इतिहास

सृष्टिको सुरूआतदेखि नै सूर्यको उपासना गरिँदै आएको पाइन्छ । अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसङ्ग उल्लेख छ । बाह्र वर्षको वनबास र एक वर्षको अज्ञात बास बसेको बेला द्रौपदीसहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेतायुगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ । कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ । चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै