• २०८१ बैशाख १७ सोमबार

प्रधानसेनापति शर्मा भारत प्रस्थान, यस्तो छ भ्रमण तालिका

kharibot

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा मित्रराष्ट्र भारतको चार दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।

भारतका स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेको औपचारिक निमन्त्रणामा प्रधानसेनापति शर्माले कार्तिक २६ सम्म औपचारिक भ्रमणको लागि श्रीमति सुनिता शर्मा सहित ९ सदस्यीय भ्रमण दलकासाथ आज मित्रराष्ट्र भारतको दिल्लीतर्फ प्रस्थान गरेका हुन् ।

नेपाली सेनाको मध्य एयर बेश, गौचरमा उनलाई बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरेका थिए ।

भारत प्रस्थान गर्नुपूर्व प्रधानसेनापति शर्मालाई सोमबार जंगी अड्डामा सम्मान गारत अर्पण गरिएको थियो । उक्त औपचारिक विदाई कार्यक्रममा नेपालका लागि भारतीय राजदुत महामहिम विनय मोहन क्वात्रा र अन्य मित्र राष्ट्रका सैनिक सहचारीहरुको पनि उपस्थिति थियो ।

प्रधानसेनापतिको नियुक्ति पश्चातको पहिलो विदेश भ्रमणको रुपमा हुन लागेको यस भ्रमणको दौरान प्रधानसेनापति महारथी शर्मालाई कार्तिक २४ गते भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्हबाट सुशोभन गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणको क्रममा प्रधानसेनापति शर्माले विभिन्न भारतीय उच्चपदस्थ पदाधिकारीहरुसँग भेटघाट गर्ने छन् । उनले आजै भारतीय रक्षा सचिव अजय कुमार, भारतीय चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, भारतीय सेनाध्यक्ष जनरल एम एम नरवणे  र भारतीय वायु सेनाध्यक्ष एयर चिफ मार्शल  भि आर चौधरीसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रधानसेनापति शर्माको भारत भ्रमणको अवधिभर उनको अनुपस्थितीमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने छन् ।

भ्रमण सम्पन्न गरी प्रधानसेनापति शर्मा सहितको भ्रमणदल कार्तिक २६ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । 
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै