काठमाडौँ । बरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई भारत सरकारले पद्मश्री पुरस्कार दिने घोषणा गरेको छ।
६९औ गणतन्त्र दिवसको पूर्वसन्ध्यामा विहिबार भारत सरकारले भारतको प्रतिष्ठित यो पुरस्कार यस वर्ष विदेशीतर्फ डाक्टर रुइतलाई दिने निर्णय सरकारले बिहीबार गरेको हो ।
डाक्टर रुइत तिलगंगा आँखा प्रतिष्ठानकमा संस्थापक हुन् ।
रुइतले विकास गरेको इन्ट्राअकुलर लेन्स संसारभरि लोकप्रिय छ। मोतीविन्दुको अप्रेसन गरेपछि आँखामा राख्नु पर्ने यो लेन्स दुई दशकअघिसम्म निकै महंगो थियो ।
१ सय अमेरिकी डलर पर्ने सो लेन्सका कारण धेरै अविकसित देशका नागरिक यसको पहुँच बाहिर थिए । सन् १९९७ मा डाक्टर रुइतले नेपालमै सो लेन्स उत्पादन गर्न सुरु गरेपछि त्यसको मूल्य जम्मा ४ डलरमा पुगेको छ ।
अहिलेसम्म नेपालमा उत्पादित ४० लाख बढी इन्ट्राअकुलर लेन्स संसारभरिका मानिसका आँखामा राखिएको छ।
ताप्लेजुङको विकट गाउँमा जन्मेका डाक्टर रुइतले हरेक वर्ष निशुःल्क आँखा शिविर पनि गर्दै आएका छन्। नेपालसहित भुटान, इन्डोनेसिया, म्यानमार, उत्तर कोरिया र अफ्रेकी देशहरुमा रुइतले हरेक वर्ष निशुःल्क आँखा शिविर चलाउँदै आएका छन् ।
डा.रुइतले आँखा रोगको क्षेत्रमा गरेको योगदानलाई कदर गर्दै सन् २००६ मा उनले फिलिपन्सको प्रतिष्ठित रोमन म्यागासासे पुरस्कार पाएका थिए।
गत वर्ष माइती नेपालकी संस्थापक अनुराधा कोइरालाले यो पुरस्कार पाएकी थिइन्।









